हिमालपारिको गाउँ लिमीमा एक वर्षदेखि खाद्यान्न पुगेन

सिमकोट – हिमालपारिको गाउँ लिमीमा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन। गत वर्ष कात्तिकमा खाद्यान्न पुगे भए पनि त्यसयता खाद्यान्न पुग्न नसकेको हो।

नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले एक वर्षयता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न लिमीमा पुग्न नसकेको बताए।

गत वर्ष कात्तिक पहिलो साता साढे चार सय क्विन्टल खाद्यान्न सदरमुकाम सिमकोटस्थित लिमिटेडको गोदामबाट खरिद गरेर ढुवानी गरिएको थियो। उनले त्यसयता एक दाना पनि खाद्यान्न लिमी नपुगेको जानकारी दिए।

यसपालि वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएका कारण लिमीका तीन वटै गाउँमा खाद्यान्न समस्या हुने देखिएको बताए। १४७ घरधुरी रहेको लिमीमा यसअघि चीनको ताक्लाकोटबाट स्थानीयले खाद्यन्न आयात गर्ने गरे पनि कोरोना कहरयता नाका बन्द हुँदा खाद्यान्न आउन पाएको छैन।

स्थानीय उत्पादन कम हुनु, ताक्लाकोटबाट खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि नजाने हो भने लिमीमा ठूलो खाद्यान्न समस्या आउन सक्ने उनले चेतावनी दिए। खाद्य समस्या हुने देखिएपछि त्यसको व्यवस्थाका लागि जिल्लामा डेलिगेसन आइपुगेको उनले बताए।

जिल्ला प्रशासन कार्यालयमा लिमीका लागि खाद्यान्न व्यवस्था गर्न निवेदन पेस गरेको र दसँै बिदाको कारण कुनै सुनुवाइ हुन नसकेको उनले बताए।

चालु वर्षमा लिमीका लागि भनेर लिमिटेडले छुट्टै खाद्यान्न बिक्री केन्द्र स्वीकृत गरेको छ। तर, हालसम्म कर्मचारी र खाद्यान्नको व्यवस्था गर्न भने सकेको छैन। लिमीकै लागि लिमिटेडले पाँच सय क्विन्टल खाद्यान्न कोटा स्वीकृत गरे पनि त्यो पनि ढुवानी हुन सकेको छैन।

अर्को कुरा लिमिटेडले नाम्खा गाउँपालिकाका लागि काठमाडौंबाट केरुङ नाका हुँदै तिब्बतको बाटो भएर हिल्सा नाकाबाट गाउँपालिका केन्द्र याल्वाङसम्म पाँच हजार क्विन्टल खाद्यान्न गत वर्षबाटै व्यवस्था गरे भए पनि त्यो समेत ढुवानी हुन सकेको छैन। कोरोनाको कारण नाका बन्द हुँदै आएका कारण उक्त खाद्यान्न ढुवानी हुन नपाएको जनाइएको छ।

मंसिरपछि हिमपात हुने र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो नै बन्द हुने भएका कारण कात्तिकभित्रै लिमीका लागि खाद्यान्नको व्यवस्था गर्न स्थानीयको माग छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्