कुमारी नियुक्ति भएको पहिलो वर्ष नै लुनिभा भक्तपुर तलेजु जान पाइनन्

सिंगारिएर कुमारी द्योछेंस्थित सिंहासनमा बसेकी भक्तपुरकी एकान्तकुमारी लुनिभा बज्राचार्य र एकान्तकुमारी बोकेका भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी।

भक्तपुर – भक्तपुरको भक्तपुर नगरपालिका– १० की ४ वर्षीया लुनिभा बज्राचार्य यसै वर्ष भक्तपुरको एकान्तकुमारीमा नियुक्त भइन्।
दसैँ नजिकिएकै कारण गुठी संस्थान केन्द्रीय कार्यालयले उनलाई भक्तपुरको एकान्तकुमारीमा नियुक्त गरेको थियो। उनीअघिकी एकान्तकुमारी जीविका बज्राचार्यको गएको माघमा ईही (बेलविवाह) भएपछि भक्तपुरमा एकान्तकुमारीको स्थान रिक्त थियो।

माघमा रिक्त भएको एकान्तकुमारीमा गुठी संस्थानले यही असोज पहिलो सातामात्रै लुनिभालाई नियुक्ति दिएको हो। उनलाई भक्तपुर एकान्तकुमारीमा नियुक्त गर्न भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले सिफारिस गरेका थिए। तलेजुका मूल नाइकेको सिफारिसमै भक्तपुरमा एकान्तकुमारी नियुक्ति हुने परम्परा रहँदै आएको छ।

यसरी एकान्तकुमारीमा नियुक्ति भएको पहिलो वर्षमै लुनिभा भक्तपुर तलेजु जान पाइनन्। बडा दसैँको महानवमीको दिन एकान्तकुमारी कुमारी द्योछेंबाट बाजागाजासहितको लावालस्करसहित भक्तपुर तलेजु पुग्ने गर्छन्। उनलाई भक्तपुर तलेजुका मूल नाइकेले काखमा बोकेर तलेजुको मूलचोकको पश्चिमस्थित कुमारी चोकमा रहेको दसैँघरमा विराजमान गराइन्छ।

तर गत वर्षजस्तै यसवर्ष पनि विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण बडा दसैँको महानवमीमा कुमारीयात्रा नगरिएको मूल नाइके जोशीले जानकारी दिए। सप्तमीको दिन तलेजु भवानीको तुलजा यात्रा रोकिएसँगै यस वर्ष पनि कुमारी यात्रा रोकिएको उनले बताए।

कुमारी यात्रा रोकिएसँगै भक्तपुर तलेजुका रकमीहरु बाजागाजाविनै एकान्त कुमारीको द्योछें पुगे। दसैंघर सवारी हुने कुमारीलाई तलेजुका जोशी, राजोपाध्याय र कर्माचार्य पुजारी नाइकेहरुसँगै अरु रकमीले पूजाआजा गर्ने गर्छन्। जीवित देवी कुमारी तलेजुस्थित दसैंघर सवारी नभएपछि आफूहरु नै कुमारी द्योछें गएर कुमारी पूजा विधिवत सम्पन्न गरिएको मूल नाइके जोशीले जानकारी दिए।

‘कोरोना भाइरस संक्रमणको कारण यस वर्ष जीवित देवी कुमारी तलेजु सवारी हुनुभएन’, मूल नाइके जोशीले भने, ‘त्यसैले हामी नै कुमारी द्योछें पुगेर तलेजुमार्फत हुने सम्पूर्ण पूजा विधिवत सम्पन्न गरेका छौं।’

एकान्त कुमारी पूजाका क्रममा वेदपाठ, चण्डी पाठ, स्त्रोत्रपाठसमेत गरिएको उनी बताउँछन् ।

भक्तपुर तलेजु सवारी रोकिएपछि एकान्त कुमारी भक्तपुर नपा ५ चासुखेलस्थित माक थरको समुदायको गुठी घरमा पनि पुगेनन्। एकान्त कुमारी तलेजु सवारी हुनुअघि यस गुठीघरमा पुग्ने गर्दछिन्। जहाँ भैरव र गणेशसहितका ११ गणकुमारी र एकान्त कुमारीको एकैपटक पूजाआजा गरिन्छ। तर कोरोना भाइरस संक्रमणका कारण उक्त पूजा पनि रोकिएको मूल नाइके जोशीले जानकारी दिए। एकान्तकुमारी द्योछें बाहिर सवारी हुँदा सधैं उनलाई छत्र ओढाउने गरिन्छ।

एकान्त कुमारीको द्योछें भक्तपुर नपा १० क्वाठण्डौंस्थित प्रशन्नशील महाविहार परिसरमा रहेको छ। जहाँ बुधबार महानवमीको दिन तलेजुबाट कुमारी पूजा गरिएको छ। द्योछेंमा सुसारे नाइके न्हुछेरत्न शाक्यले एकान्तकुमारीको रेखदेखलगायत गर्ने गर्छन्।

भक्तपुरको एकान्तकुमारी शाक्य बज्राचार्य थरकी बालिकामात्रै हुने प्रचलन रहँदै आएको छ। जसअनुसार भक्तपुर नपा १० कै ४ वर्षीया लुनिभा बज्राचार्य यस वर्षमात्रै कुमारी नियुक्त भएकी हुन्।

कुमारी रहेकी बालिकाको रजस्वला वा बेलविवाह कुन पहिले हुन्छ त्यसको आधारमा निवृत्त हुने प्रचलन रहेको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्