ब्रह्मायणी शक्तिपीठ पुर्‍याइयो खःमेय्

नवदुर्गा द्योछेंबाट खःमेय् निकाल्दै जात्रालु । तस्बिर सौजन्य : तुलसीकुमार त्वायना

भक्तपुर – बडा दसैंअन्तर्गत महानवमीको दिन बिहीबार भक्तपुरमा खःमेय्लाई भक्तपुर नगरपालिका ९ स्थित ब्रह्मायणी शक्तिपीठ पुर्‍याएर खःमेय् जात्रा सम्पन्न गरिएको छ। आजै ख:मेयकाे वध गरिन्छ। दुर्गा भवानीले महिषासुर राक्षसकाे वध गरेकाे प्रतीकस्वरुप ख:मेयकाे वध गरिनु यस जात्राकाे परम्परा हाे।

महानवमीको दिन महिषासुर राक्षसको प्रतीकको रुपमा भक्तपुरमा खःमेय् जात्रा मनाइएको हो। खःमेय्को वधपछिमात्रै भक्तपुरको ऐतिहासिक नवदुर्गा नाचका देवगणको उत्पत्ति हुने जनश्रुति रहेको छ। खःमेय् भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा द्योछेंमा पालिएको थियो।

नवदुर्गा द्योछेंमा पालिएको खःमेय्लाई गछें, दत्तात्रय, तौला तुन्छी, सूर्यमढी, च्याम्हासिंह, देगइना हुँदै ब्रह्मायणी शक्तिपीठ लगेर जात्रा सम्पन्न गरिएको छ। यो जात्राले मध्य मल्लकालदेखि बढी महत्व पाएको संस्कृतिकर्मीहरु बताउँछन्। उनीहरुका अनुसार जात्राको खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्छ। यस्ता गुण भएको खःमेय्को व्यवस्था गर्न श्रावण शुक्ल चतुर्दशी एवं गाथामोगको दिन नवदुर्गा द्योछेंस्थित खःमेय् बाँध्ने किलोमा डोरी बाँधिन्छ। यहीं दिन नवदुर्गा द्योछेंमा महादेवको उत्पत्ति हुने विश्वास रहँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

उनका अनुसार खःमेय् बाँध्ने किलोमा डोरी बाधिएपछि खःमेय्को लागि उपयुक्त राँगोको खोजी हुन्छ। राँगो भेटिएपछि नवदुर्गा द्योछेंकी नकींले लसकुस (स्वागत) गर्दै उक्त किलोको डोरीले बाँधिने उनको भनाइ छ।

द्योछें भित्र्याइएको खःमेय्लाई नकींले नै रेखदेख गर्छिन्। यसक्रममा खःमेय्लाई दिनहुँ तोरीको तेल दल्ने गरिन्छ। मीठोमीठो खानेकुरा खुवाइन्छ। जाँडरक्सीसमेत खुवाइन्छ। जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभावको बन्दै आउँछ।

खःमेय् दौडाउने जात्राको क्रममा हनुमन्ते खोलामाथि बनेको पुलबाट लगिँदैन। सीधै खोलाबाट लगिन्छ। यसबेला भक्तजनहरुले खःमेय्माथि पानी छ्यापाछ्याप गर्छन्। यस कार्यले खःमेय्लाई चोख्याउने काम हुने संस्कृतिकर्मी धौभडेल बताउँछन्।

‘खःमेय्लाई ब्रह्मायणी पीठ लानुअघि शुद्ध स्नान गराएर चोख्याउन हनुमन्ते खोला भएर लगिन्छ’, उनले थपे, ‘यसरी शुद्ध स्नान गराउने बेला भक्तजनहरुबीच पनि एकापसमा पानी छ्यापाछ्याप गर्ने चलन कम रोचक हुँदैन।’

ब्रह्मायणी मन्दिर पुर्‍याइएको खःमेय्लाई मासाहुती यज्ञको आयोजना गरी वध गरिन्छ। भक्तपुर तलेजुका रकमी खड्गीहरुले खःमेय्को वध गरेपछि त्यसको रगत नवदुर्गा देवगणले लाउने मुकुन्डोमा चढाइन्छ। यसरी नवदुर्गा देवगणलाई तृप्त गरेपछि बाँकी रगत माटोको घ्याम्पोमा जम्मा गरिन्छ। यसलाई भैलकोंचा भनिन्छ। जुन भैलकोंचा नवदुर्गा द्योछेंमा लगेर राखिन्छ।

खःमेय्को वधसँगै नवदुर्गा देवगणको उत्पत्ति हुने जनविश्वास रहेको छ।

असोज २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्