काठमाडौँ– बडादसैंको दशौँ दिन शुक्रबार विजया दशमी। परिवार र आफन्तमा आफूभन्दा ठूलाका हातबाट टीका र जमरा लगाएर यो पर्व देश र विदेशमा रहेका नेपालीहरु मनाउँदैछन्। दसैंमा ठूलाबडाबाट आशिर्वाद लिने चलन छ।

घटस्थापनाका दिन राखेका जमरा विधिवत रुपमा काटेर मान्यजनका हातबाट शिरमा लगाउने चलन रहिआएको छ। निधारमा कसैले रातो त कसैले सेतो टीका लगाउने परम्परा छ।

यो एक परिवार जमघट हुने अवसर पनि हो। कामको सिलसिलामा काठमाडौँलगायतका सहरमा रहेका मानिसहरु गाउँ फर्किएका छन्। जसका कारण उपत्यका सुनसान बनेको छ।

प्रहरीको तथ्याङअनुसार करिब ९ लाख मानिसले उपत्यका छोडेका छन्।

शुक्रबार बिहानसम्म सुनसान रहेका काठमाडौँका सडकमा दिउँसो केही सवारीसाधनहरु देखिएका छन्। आफन्तको घरमा टीक लगाउन जानेहरुका कारण बाटोमा गाडी र मानिसहरुको उपस्थिति देखिन्छ। फाट्टफुट्ट सार्वजनिक यातायात चलेका छन्। निधारमा रातो टीका र शिरमा जमरा लगाएका मानिस बाटोमा देख्न सकिन्छ।

सुरक्षाका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीको बाटोमा उपस्थिति देखिन्छ। मुख्यचोकमा केही समय गाडी रातो बत्तीमा रोकिनु परको देखिन्छ।

कोरोना भाइरसका कारण दुई वर्ष हाँसीखुसी दसैं मनाउन नपाएका नेपालीहरु कोरोना संक्रमणमा केही कमि देखिएपछि यसपटक भने परिवारमा जमघट भएर मनाइरहेका छन्। तर स्वास्थ्यकर्मीको आग्रह छ– स्वास्थ्य मापदण्ड पालना गर्नुस्।

तस्बिरहरुः प्रभात खनाल/देश सञ्चार।