राष्ट्रपतिबाट विजयादशमीको टीका ग्रहण

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा आमा मिथिला पाण्डेको हातबाट शुक्रबार साइतमा दसैँको टीका तथा प्रसाद ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमानढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी छन्।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिएकी छन्।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ। रासस

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्