प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

प्रम निवास बालुवाटारमा दसैँको टीका एवम् जमरा लगाइदिँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : रोशन सोपकोटा/रासस

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टीकाराम घिमिरेबाट बिहीबार टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा आरजु देउवा र छोरा जयवीर देउवालाई दसैँको टीका लगाइदिएका थिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ। रासस

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्