विप्लवका दाजु चन्द्रबहादुरको दिल्लीमा निधन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका जेठो दाजु चन्द्रबहादुर चन्द वीरजंगको निधन भएको छ। उनको उपचारको क्रममा भारतको राजधानी नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा बुधबार राती ९ बजे निधन भएको नेकपाले जनाएको छ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शोक वक्तव्य जारी गर्दै ६१ वर्षीय वीरजंगको मुटुको उपचारको क्रममा निधन भएको पुष्टि गरेका हुन्।

उनको जन्म २०१६ साल फागुन ७ गते रोल्पाको इरिवाङ ६ मा भएको थियो। विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलनमा होमिएका उनी नेकपा मशाल, नेकपा एकता केन्द्र हुँदै नेकपा (माओवादी) को राजनीति सक्रिय भएका थिए। माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षमा समेत लागेका उनी २०६२/०६३ को जनआन्दोलनपछि सार्वजनिक भएको नेकपा (माओवादी) बाट विप्लवलगायतसँगै छुट्टिएका थिए। पछिल्लो समय विप्लव नेतृत्वको नेकपामा आवद्ध उनको निधनले पार्टीलाई अपूरणीय क्षति भएको प्रवक्ता प्रकाण्डले उल्लेख गरेका छन्।

उनका अनुसार वीरजंगको निधनमा पार्टीले देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डालाई आधा झुकाइनेछ। मृतक वीरजंगको शव असोज ३० गते नयाँदिल्लीबाट नेपाल ल्याई गृहनगर कपिलवस्तुको शिवगढ ल्याएर अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने पार्टीले जनाएको छ।

यसैगरी नेकपा समर्थित १२ वटा जनवर्गीय संगठनले मृतक वीरजंगप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्