अफगानिस्तानमा कान्दाहार सहरको एक मस्जिदमा विष्फोट, कम्तिमा ३३ जनाको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्रमा रहेको कान्दाहार सहरको एक शिया मस्जिदमा भएको विष्फोटमा परी कम्तिमा ३३ जनाको मृत्यु भएको छ।

विष्फोटमा ७३ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ। घाइतेहरुको अवस्था गभ्मीर रहेको हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ।

विष्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो। विष्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन।

विष्फोटपछि तालिवान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले ट्वीट गर्दै घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन्। उनका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ।

रोयटर्सका अनुसार तीन जना आत्मघाती हमलाकारीले उक्त विष्फोट गराएका थिए।

घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ। रगतको अभाव रहेको भन्दै अस्पतालले युवाहरुलाई रगत दिन आह्वान गरेको  छ।

अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा विष्फोट भएको ठीक एक हप्तापछि कान्दाहारमा विष्फोट भएको हो। उक्त विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो।।

इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका विष्फोट गरिरहेका छन्।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्