चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि

काठमाडौँ– १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ।

दुबईमा भएको खेलमा कोलकात्ता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो। यसअघि चेन्नईले सन् २०१०, २०११ र २०१८ मा आईपीएलको उपाधि जितेको थियो।

कोलकात्ताले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६, मोइन अलीले ३७, ऋतुराज गाइक्वाडले ३२ र रोविन उथप्पाले ३१ रन जोडेका थिए।

बलिङतर्फ कोलकात्ताका सुनिल नारिनले दुई तथा शिवम् मावीले एक विकेट लिएका थिए।

१९३ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन मात्रै बनाउन सक्यो।

कोलकात्ताका शुभमन गिलले ५१, वेङ्कटेश अय्यरले ५०, शिवम् मावीले २० र लोकी फर्गुसनले १८ रन जोडे पनि अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

राम्रो सुरुवात गरेको कोलकाेत्तालाई रोक्न चेन्नईका शार्दुल ठाकुरले तीन, रवीन्द्र जडेजा र जोस हेजलउडले दुई–दुई तथा दीपक चाहर र ड्वाने ब्राभोले एक–एक विकेट लिए।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्