बेलायती सांसद सर डेविडको चक्कु प्रहार गरी हत्या

बेलायतमा एक सांसदको चक्कु आक्रमण गरी हत्या भएको छ। आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ सांसद सद डेविड एमेसमाथि चक्कु आक्रमण भएको हो।

एक भन्दा बढीपटक भएको चक्कु प्रहारबाट ६९ वर्षका एमेसको निधन भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

ली अन सी स्थित चर्चमा उनीमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ।

प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कु बरामद गरेका छन् । घटनामा संलग्न भएको आशंका पक्राउ परेका युवा बाहेक अरुमा नरहेको प्रहरीको भनाई छ । प्रतिआतंकवाद समूहले अनुसन्धानको नेतृत्व गर्ने छ ।

शुक्रबार भएको घटनापछि प्रधानमन्त्री बोरिस जोन्सनले आफू दुःखमा रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री प्रिती पटेलले प्रहरीलाई सबै सांसदहरुको सुरक्षा व्यवस्थाबारे तत्काल मूल्यांकन गर्न आदेश दिएकी छन् ।

सर डेविड सन् १९८३ देखि सांसद रहँदै आएको थिए । उनका श्रीमती र पाँच सन्तान छन् ।

पछिल्लो पाँच वर्षमा बेलायतमा दुई सांसदको हत्या भएको छ। सन् २०१६ मा लेबर पार्टीका सांसद जो कक्सको हत्या भएको थियो ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्