घाम पनि डाँडापारि घर्किसके अरे
गुँड खोज्दै यताउता तर्किसके अरे।।

राम्रो लाउन मीठो खान पछिलागे कति
पिठिउँ बोकी खोला तार्ने फर्किसके अरे।।

गुनको सरसापट भरपाइ भयो भन्छन्
तरकिप बुझी दुवैसँग जर्किसके अरे।।

स्याल ब्वाँसा वनभरि लुछीलुछी खाने
खेलोमेलो बुझी जानी झर्किसके अरे।।

कति पाए कति खाए कति मोसो मुखमा
गोदान सकी कुश पानी छर्किसके अरे।।

बन्नु भन्ने कता कता भत्किनुको ताँती
बनाउँ भन्ने हातसमेत मर्किसके अरे।।

ढोडको लौरो टेकी टेकी कति सफर गर्नु
खाल्टाखुल्टी डहर देख्दै थर्किसके अरे।।

छिमेकीका ढुङ्गा माटो घर बनाए नौलो
हुरी बतास आउनुअघि चर्किसके अरे।।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्