नवदुर्गा देवगणले तलेजुबाट पाए प्राण सिद्धि

भक्तपुर – वडा दसैंको महानवमीको दिन उत्पत्ति भएका नवदुर्गा देवगणले भक्तपुर तलेजुबाट प्राण सिद्धि प्राप्त गरेका छन्। भक्तपुर नगरपालिका ९ स्थित ब्रह्मायणी शक्तिपीठमा उत्पत्ति हुने विश्वास गरिने नवदुर्गा देवगणले दशमीको दिन भक्तपुर दरबार क्षेत्र पुगेर तलेजु भवानीसँग प्राण सिद्धि लिनुपर्ने प्रचलन रहेको छ।

महानवमीको दिन उत्पत्ति भए पनि तलेजुबाट प्राण सिद्धि नलिएसँग नवदुर्गा देवगणहरु जीवित नहुने जनविश्वास रहँदै आएको छ। सोहीअनुसार शुक्रबार राती करिब ११ः३० बजे नवदुर्गा देवगण भक्तपुर तलेजु सवारी भएका थिए। उनीहरुलाई भक्तपुर दरबार क्षेत्रस्थित स्वर्णद्वारभित्र रहेको जमदार चोकमा तलेजु भवानीले सिद्धि प्रदान गरेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार प्राण सिद्धि लिन नवदुर्गा देवगण रात्रीकालमा भक्तपुर तलेजु पुग्ने गर्छन्। यस वर्ष तलेजुको पायो (खड्ग) जात्रा जमदार चोकमा मात्रै सीमित भयो।

दसैँको दशमीको दिन तलेजुको पायो जात्रा हुँदै आएको छ। पायो जात्राकै दिन नवदुर्गा देवगण तलेजुको दर्शन भेट गर्न आउने प्रचलन रहेको मूल नाइके जोशी बताउँछन्।

‘दर्शन भेटकै क्रममा तलेजु भवानीले नवदुर्गा देवगणलाई प्राण सिद्धि प्रदान गर्छिन्’, उनले भने, ‘तर यस वर्ष पायो जात्रा तलेजुभित्रै सीमित भएकाले स्वर्णद्वारभित्र रहेको जमदार चोकमा नवदुर्गा देवगणका सदस्यहरुले पालैपालो तलेजु भवानीको दर्शन भेट गरेका थिए। यसैबेला तलेजु भवानीबाट नवदुर्गा देवगणले प्राण सिद्धि प्राप्त गर्छन्।’

उनका अनुसार तलेजु भवानीलाई दिदी र नवदुर्गा भवानीलाई बहिनीको रुपमा समेत लिइन्छ। साथै तलेजु भवानीलाई नवदुर्गा देवगणको अभिभावक मानिन्छ। त्यसैले नवदुर्गा देवगणले पायोजात्रा हुनुअघि पनि स्वर्णद्वार अगाडि पुगेर तलेजु भवानीको पूजाआजा तथा दर्शन गर्ने प्रचलन रहँदै आएको मूल नाइके जोशी बताउँछन्।

उनले तलेजु भवानीको प्रतीक मानिने पायो तलेजुबाट बाहिर नलगिएपछि नवदुर्गा देवगणले टौमढीस्थित स्वपुङ भैरव परिसरमा गर्ने दर्शनभेट भने यो वर्ष हुन पाएन। गत वर्ष पनि कोरोना भाइरस संक्रमणका कारण उक्त दर्शनभेट रोकिएको थियो।

राेकियाे सेताे घोडा जात्रा

फाइल तस्बिर

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणको कारण यस वर्ष पायो जात्रा भक्तपुर तलेजुभित्रै सीमित हुँदा तलेजुको वाहन सेताे घोडाको जात्रा भने रोकियो।

मूल नाइके जोशीले कोरोना भाइरस संक्रमणकै कारण गत वर्षजस्तै यस वर्ष पनि सेतो घोडा जात्रा रोकिएको बताए।

अरु बेला तलेजुको वडा दसैंको विधिविधानअनुसार तलेजु भवानीको प्रतीकस्वरुप खड्ग र वाहन तलेजुबाट बाहिर ल्याई भक्तपुर नगर परिक्रमा गराइन्थ्यो। उक्त खड्गसँगै सेतो घोडालाई नगर परिक्रमा गराइने जात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको गर्दथ्यो।

पायो जात्रामा तलेजुभित्रका राजोपाध्याय पुजारीले खड्ग बोक्ने गर्छन्। चन्द्रमासको गतिअनुसार उक्त पायो जात्रा भक्तपुरको माथिल्लो र तल्लो भेगबाट परिक्रमा गरिने प्रचलन रहेको छ।

तलेजुको टीका जमरा ग्रहण

यसैबीच शुक्रबार भक्तपुर तलेजुका राजोपाध्याय, जोशी तथा कर्माचार्य पुजारी नाइकेसँगै अन्य रकमीहरुले बडा दसैंको टीका, जमरा तथा मोहनी दसैंको शुभसाइतमै ग्रहण गरे।

विजया दशमीको टीकाको साइतमै तलेजुका पुजारी नाइके तथा रकमीहरुले दसैंघरको टीका, जमरा र मोहनी ग्रहण गरेको मूल नाइके जोशीले बताए ।

उनका अनुसार यस वर्ष भक्तपुर तलेजुमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएकाले सर्वसाधारणलाई दसैंको टीका, जमरा र मोहनी प्रसादस्वरुप वितरण गरिएन।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्