अमिताभ बच्चनको ‘अनस्क्रिन बेगम’ फारुख जाफरको निधन

हिन्दी चलचित्रकी दिग्गज कलाकार फारुख जफरको ८८ वर्षको उमेरमा निधन भएको छ। जफरका नाती शाज अहमदका अनुसार शुक्रबार ‘मस्तिष्क घात’ को कारण उनको निधन भएको हो। उनले ट्वीटर मार्फत जफरको निधनको खबर सार्वजनिक गरेका थिए।

उनले लेखेका छन्, ‘मेरी हजूरआमा र स्वतन्त्रता सेनानीकी पत्नी, वरिष्ठ अभिनेत्री फारुख जफरको आज साँझ ७ बजे लखनाउमा निधन भयो।’

फारुख केही समय अगाडि अभिताभ बच्चन र आयुषमान खुराना अभिनित चलचित्र गुलाबो सिताबोमा बेगमको भूमिकामा देखिएकी थिइन्। अमिताभ बच्चन ‘मिर्जा’ की श्रीमति फातिमा बेगमको भूमिकामा देखिएकी फारुख चलचित्रमा ९५ वर्षकी वृद्धाको भूमिकामा थिइन्, जो आफ्नो पुर्खौली हवेली बचाउनको लागि पुरानो प्रेमीसँग भागेर विवाह गर्छिन्।

सन् १९३३ मा जोनपुरको जमिनदार परिवारमा जन्मेकी फारुखको पत्रकार तथा स्वतन्त्रताका सेनानी सैयद मोहम्मद जफरसँग विवाह भएको थियो। विवाह पछि उनी १६ वर्षको उमेरमा लखनाउ आइन्।

सैयद मोहम्मदले फारुखलाई अगाडि पढाए, थियटरमा तालिम लिन लगाए र चलचित्रमा अभिनय गर्न प्रेरणा पनि दिए। फारुखले लखनाउ विश्वविद्यालयबाट ग्राजुएशन गरेकी छन् भने अल इन्डिया रेडियोमा जागिर पनि गरेकी छन्।

उनको चलचित्र करियर सन् १९८१ मा आएको ‘उमराव’ चलचित्रबाट शुरु भएको थियो। त्यसपछि सन् २००४ मा उनले स्वदेश चलचित्रमा काम गरिन्। त्यसपछि पिपली लाइभ, चक्रव्यूह, सल्तान, तनु वेड्स मनुमा पनि उनको भूमिका रहेको छ।

उनले पछिल्लो पल्ट काम गरेको चलचित्र ‘अम्मा कि बोली’ र गुलाबो सिताबो हो। ८८ वर्षको उमेरमा उनलाई ‘फिल्म फेयर अवार्ड’ ले सम्मान गरिएको थियो। उनले अभिनय गरेका केही छोटा चलचित्रहरु प्रदर्शन भईसकेका छैनन्।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्