स्थानीय युवासंगको झडपमा सात प्रहरी घाईते

सांकेतिक तस्बिर

सिमकोट – रुकुमको मुसिकोटमा स्थानीय र प्रहरीाबीच झडप हुँदा सात जना प्रहरी घाईते भएका छन् । शुक्रबार राती अवेर बागबजार क्षेत्रमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाईते भएका हुन ।

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घाईते प्रसनि बोहराको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट देखिएको थियो।

झपडमा परि प्रहरी हवल्दार काली बहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाँडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका – १ को बागबजार नजिकै पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो ।

उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछी मुठभेडको अवस्था बनेको उनले बताए । यसैबिच प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर ५ का २० बर्षका नरेश पुन मगर, वडा नम्वर १ का १८ वर्षका राजन प्रकाश गिरी, सोहि ठाउँका वर्ष २० का आकाश परियार र वर्ष २५ को हरि बहादुर घर्ती, वडा नम्बर १० का वर्ष २४ का खडानन्द के.सी. र रुकुम पुर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका ५ बस्ने वर्ष २३ को मर्कुश पुन मगर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकाहरु धनिराम नेपाली, स्वयल विश्वकर्मा, निसान पुन र बिक्कु भन्ने विकास परियार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भैरहेको जनाईएको छ ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्