निर्देशकबाट ‘हिरोइन बन्न रिजेक्ट’ भएकी हेमा मालिनी कसरी बनिन् ‘ड्रिम गर्ल’?

उत्कृष्ट अभिनय गरी लाखौँ मानिसलाई आफ्नो प्रशंसक बनाएकी अभिनेत्री हुन् हेमा मालिनी। बलिउडकी ‘ड्रिम गर्ल’ आज ७३ औँ जन्मदिन मनाइरहेकी छन्।

आफ्नो अभिनय, सुन्दरताले सबैको मन जितेर ‘ड्रिम गर्ल’ को नाम पाएकी हेमाको चलचित्र क्षेत्रको यात्रा भने त्यही सहज थिएन। संघर्षको दौरान उनको सफलताले आकाश चुम्यो। उनलाई भारतको प्रतिष्ठित पद्मश्री र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पनि सम्मान गरिएको छ।

हुन त मालिनीले १४ वर्षको उमेरबाट नै अभिनय यात्रा शुरु गरेकी हुन्। उनले तमिल भाषाको चलचित्र ‘इन्धु साथियम’ मा छोटो भूमिकाबाट अभिनय यात्रा शुरु गरेकी थिइन्। त्यसपछि उनले सन् १९६५ मा तेलुगू चलचित्र पाण्डव वनवासम लगायत धेरै चलचित्रमा छोटो भूमिका निभाइन्।

तर उनलाई पहिलो चलचित्रबाट भने अभिनय गर्न नसक्ने भन्दै निकालिएको थियो। तामिल निर्देशक सिवी श्रीधरले एक चलचित्रमा हेमालाई मुख्य भूमिकामा लिएका थिए। तर चलचित्रको छायांकन शुरु भएपछि उनलाई चलचित्रमा अनुपयुक्त भएको भन्दै निकालियो।

उनलाई असाध्यै पातली भएको कारण अभिनेत्री बन्न लायक नभएको प्रतिक्रिया दिइएको थियो। चलचित्रबाट निकालिएपछि उनी डिप्रेशनमा गएको बताइन्छ।

त्यसको केही समयपछि हेमाले राज कपूरसँग चलचित्र ‘सपनो का सौदागर’ बाट हिन्दी चलचित्रमा डेब्यू गरिन्। यो चलचित्रको लागि हेमाले राज कपूरलाई स्क्रिन टेस्ट दिएकी थिइन्। भनिन्छ, राज कपूरले हेमालाई देख्ने बित्तिकै उनको उज्ज्वल भविष्य देखेको प्रतिक्रिया दिएका थिए।

त्यतिबेला हेमाले आफूलाई अभिनयको बारेमा धेरै जानकारी नभएको पनि प्रस्ट पारेकी थिइन्।

तर यही चलचित्र उनको लागि भाग्यमानी सावित भयो। सन् १९६८ मा बनेको यो चलचित्रपछि उनले आफ्नो करियरमा कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन। यही चलचित्रले नै उनलाई ‘बलिउडकी ड्रिम गर्ल’ को पहिचान दियो।

उनको लागि राज कपूरसँगै निर्माता बी अनन्तस्वामी पनि भगवान् सावित भए। भनिन्छ, चलचित्रको पोस्टर छाप्ने बेलामा निर्माताले नै हेमालाई उपनाम दिए, ‘राज कपूरकी ड्रिम गर्ल।’

पोस्टर सार्वजनिक भएपछि हेमालाई मिडिया र अन्य व्यक्तिले पनि ड्रिम गर्ल भनेर बोलाउन थालेका थिए।

हेमा यस्ती कलाकार हुन् जसले बलिउडका ५ कपूर – राज कपूर, शम्मी कपूर, शशी कपूर, रणधीर कपूर र ऋषि कपूरसँग काम गरेकी छन्।

सहज थिएन हेमा–धर्मेन्द्रको प्रेम


हेमा सन् १९७० मा बनेको चलचित्र ‘तुम हसिन मै जवान’ मा धर्मेन्द्रको साथमा काम गरेकी थिइन्। चलचित्रको पर्दा भित्र र बाहिर नै यी दुई नजिक हुन थालेका थिए। यी दुईको चर्चित जोडिले २५ भन्दा धेरै उत्कृष्ट चलचित्रमा साथ काम गरेको छ।

जब हेमा र धर्मेन्द्रबीच प्रेम बस्यो, धर्मेन्द्र पहिला नै विवाहित थिए। प्रकाश कौरसँग विवाह गरेका धर्मेन्द्रका दुई सन्तान सनी देवल र बबी देवल जन्मिसकेका थिए। तर पनि यी दुई पछाडि हटेनन्।

धर्मेन्द्र विवाहित भएको कारण हेमाका परिवार यो सम्बन्धको विरुद्धमा थियो, हेमालाई सम्झाउँदा पनि पछि नहटेपछि हेमाको परिवारले उनलाई पहरा दिन थाल्यो। हेमाको धर्मेन्द्रसँग नभेटोस् भन्नका लागि हेमाको परिवारका कोही न कोही चलचित्र छायांकनस्थलमा रहने गर्थे।

धर्मेन्द्रसँग बोल्ने अवस्था नआओस् भन्नका लागि हेमाका पिता हेमाको फोन कल उठाउने गर्थे। धर्मेन्द्रसँग हेमालाई टाढा राख्नको लागि हेमाको परिवारले उनको विवाह जितेन्द्रसँग पक्का पनि गरिदिएको थियो। यी दुईको टिकाटालो पनि भएको थियो।

हेमाको परिवारले पहरेदारी गरेपनि धर्मेन्द्र हेमासँग टाढा भएका थिएनन्। उनी हेमाको नजिक आउन हरसम्भव प्रयास गरिरहेका हुन्थे।

धमेन्द्रकी पत्नि प्रकाशले धर्मेन्द्रसँग सम्बन्ध बिच्छेद गर्न अस्विकार गरेकी थिइन्। तर पनि धर्मेन्द्र हेमाको पछि लाग्न छोडेनन्। त्यसपछि धर्मेन्द्रको मायाको अगाडि हेमाले सबै बन्धन तोडिन्। जितेन्द्रसँगको टिकाटालो तोडेर उनले धर्मेन्द्रसँग नै साथ रहने निर्णय गरिन्।

धेरै रुकावटको बीचमा यी दुईको विवाह सन् १९८० मा भयो। यी दुईको ईशा देवल र अहाना देवल छोरी छन्।

अभिनेत्री हुनुका साथसाथै हेमा व्यावसायिक भरतनाट्यम नृत्यांगना, लेखिका, निर्देशक, निर्माता र राजनीतिज्ञ हुन्। सन् १९९९ मा विनोद खन्नाको लागि भारतीय जनता पार्टीको क्याम्पियनमा हिस्सा लिएकी मालिनी सन् २००४ देखि भाजपासँग आवद्ध छिन्।

जन्मदिनको धेरै धेरै शुभकामना !

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्