आन्तरिक स्रोतबाट गाउँपालिकाले दिए बालविकासका कर्मचारीलाई बढेको तलब

सिमकोट– गाउँपालिकाद्वारा बाल विकासका सहजकर्ता र कर्मचारीलाई थप भएको तलबको व्यवस्था गरिएको छ। सरकारले उपलब्ध गराएको स्केलमा आन्तरिक स्रोतबाट थप व्यवस्था गरेर दसैंअघि तलब दिइएको हो।

बाल मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बाल विकासका सहजकर्ता र कर्मचारीहरुका लागि थप तलबको व्यवस्था गाउँपालिकाले गरेर विद्यालयको खातामा पठाएको बताए। उनले विद्यालयको खातामा आएलगत्तै सहजकर्ता तथा कर्मचारीको खातामा पठाउने काम पनि भएको जानकारी दिए।

यस्तै विद्यालयका सबै शिक्षकले दसैं बिदापछि मात्र खातामा आएको तलब पाउनेछन्। यसअघि साढे ६ हजार तलब सुविधा पाउँदै आएका यी कर्मचारीहरुले अब मासिक १५ हजारका दरले पाउने व्यवस्था भएको छ। त्यसका लागि साढे सात हजार सरकारले उपलब्ध गराएको थियो।

सो विद्यालयमा दुई जना बालविकासका सहजकर्ता र दुई जना कर्मचारी रहेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आन्तरिक स्रोतको व्यवस्था गरेर थप्नु पर्ने बाल विकासका सहजकर्ता र कर्मचारीको तलब उपलब्ध गराइएको बताए।

उनले १५ वटा बालविकासका २६ जना सहजकर्ता, लेखाका कर्मचारी र विद्यालय सहयोगीको थप तलबको व्यवस्था गरिएको जनाए। गाउँपालिकाले तलबका लागि आन्तरिक स्रोतबाट व्यवस्था गरिएको जनाएको छ।

सहजकर्ता, लेखा र विद्यालय सहयोगीले १५ हजारका दरले तलब पाएका छन्। सरकारको यो निर्णयलाई कार्यान्वयन गर्नेमा सिमकोट गाउँपालिका पहिलो भएको छ।

यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले यी सबैका लागि मासिक दुई हजार वृद्धि गर्ने निर्णय कार्यपालिकाको बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको बताए। खार्पुनाथमा २५ वटा बालविकास केन्द्र रहेका छन्।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्