दसैंमा पनि खेतबारीमै व्यस्त छन् हुम्लाका महिला

सिमकोट- देशभर यतिबेला दसैंको रमझम छ। तर वर्षको  एक पटक आउने चाडका बेला पनि हुम्लाका महिलाहरु भने खेतबारीमै व्यस्त छन्। उनीहरुलाई पाकेको बाली भित्र्याउने चटारो छ।

हुम्लामा कार्तिकको पहिलो हप्तासम्म किसानहरु बारीमै व्यस्त हुन्छन्। कामको चटारोमा चाडको प्रवाह नहुने किसान सुनमती हमालले बताइन्। पाकेको बाली पशुवस्तुले नोक्सान नगरोस् भनेर आफू बाली थन्क्याउनमै व्यस्त रहेको उनको भनाइ छ।

बेलामा बाली नभित्र्याए खेर जाने चिन्ताले दसैं राम्रोसँँग मनाउन नपाएको अर्की किसान जानपुरा सिंहले बताइन्।

यस्तै बारीमा कोदो टप्दै गरेकी खार्पुनाथ गाउँपालिकाको लाली गाउँकी  जुनदेशी शाहीले भनिन्,’अहिले यति नगरे, पछि के खाने?’

हुम्लामा किसानहरु यतिबेला कोदो, फापर, चिनो, मिठे फापर, कागुनो लगायतका बाली तथा आलु, सिमी, मास, भटमास, चोतो, कोइरो लगायतका तरकारी बाली भित्र्याउन व्यस्त छन्।

आजभोलि किसानहरु बिहानदेखि साँझसम्म खेतबारीमे व्यस्त हुन्छन्।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्