दसैंमा व्यापारले गति लिएसँगै विराटनगरका व्यवसायी उत्साहित

मोरङ– कोभिड १९ का कारण थलिएको विराटनगर बजारले भने यस पटकको दसैंमा राहत महसुस गरेको छ। विराटनगर बजारमा दसैंका बीच लत्ता कपडा, रेष्टुरेन्ट, जुत्ता व्यवसाय, मोबाइल, खाद्यान्नको बढी कारोबार भएको विराट व्यापार संघले जनाएको छ।

विराटनगरको मुख्य बजारमा रहेको बालाजी इम्पोरियमका सञ्चालक विजय अग्रवालका अनुसार यस पटकको दसैंमा रेडिमेड कपडाको कारोबार राम्रो भएको छ।

दसैंको १५ दिनअघिबाट व्यस्त बनेको बजार टीकाको दिन पनि भ्याइनभ्याइ भएको अग्रवालको भनाइ छ। गएको वर्ष कोभिडका कारण चाडपर्वसँगै बजार अवस्था शून्य रहे पनि, यसपटक गएको १५ दिनको व्यापारले शोधभर्ना गरेको अग्रवालले बताए। रेडिमेड कपडामा बालबालिका र युवापुस्ताका लागि बढी ध्यान दिएको बताएका उनले दसैंको लागि ल्याएको कपडा सकिएको र दीपावली तथा जाडोका लागि ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिए।

त्यसैगरि विराट व्यापार संघका अध्यक्ष सुजन थापाले गतवर्षको दसैंमा घर आउन नपाएका र यसपटक दसैं मनाउँदै गर्दा बजार पनि राम्रो रहेको बताउँछन्।

दसैंको अन्तिम चारदेखि पाँच दिन विराटनगर बजार व्यस्त बनेको उनले बताए। अध्यक्ष थापाले यसलाई निरन्तरता दिन सरकारी तवरबाटै भारतीय सीमामा कडाइ गर्नुपर्नेमा जोड दिए।

भारततर्फ खाद्यान्न तथा कपडा खरिदका लागि अध्याधिक भीड हुने गरेको बताउँदै उनले भने, ‘दसैंको मुखमा भारतीय सीमा खुल्ला गरियो। जसका कारण पनि विराटनगरको बजारले लिनुपर्ने गति कम छ। यहाँको बजारलाई चलायमान बनाउनैका लागि भएपनि माथिल्लो निकायबाट भन्सारमा कडाइ गर्नुपर्ने देखिन्छ।’

त्यसैगरि अधिकांश सर्वसाधारणलाई कार्यरत क्षेत्रबाट आइतबार खर्च उपलब्ध भएको बताउँदै उनले भने, ‘गएको आइतबारबाट सर्वसाधारणको भीड बजारमा देखिएको हो। सर्वसाधारण यसबीच लत्ता कपडा, खाद्यान्नमा मात्र नभएर खानपानका लागि बाहिर रेष्टुराँसमेत व्यस्त भएको देखिएको छ। तर, अहिले नै आँकडामा कारोबार यति भयो भन्न सकिने अवस्था छैन।’

यस पटकको बजारमा गार्मेन्टस, मोबाइल, जुत्ता तथा रेष्टुराँको व्यवसाय राम्रो भएको उनको भनाइ छ।

त्यसैगरि विगत ४ वर्षदेखि कफी हाउस सञ्चालन गर्दै आएका अभिनायक मल्ल पनि दसैंमा बजार सकारात्मक भएको बताँउछन्। दसैंमा घर आउने, विद्यालयका पुराना साथीहरु भेटघाट, विवाहका लागि एक अर्कालाई हेर्नजस्ता रोमान्चकारी गतिविधिले समेत दसैंको मुखमा व्यवसाय राम्रो भएको मल्लको भनाइ छ।

उनले आफ्नै वेक अप कफीको विराटनगर खारजीमा फ्रेन्चाइजसमेत खोलेको बताए। विराटनगरमा कफीको पारखी बढ्दै गएको बताएका उनले कोभिडबाट जोगिन सेनिटाइजरलाई महत्व दिँदै आएको बताए। प्रशासनले दिएको समयसीमासम्म क्याफे खोल्दै आएको बताएका मल्लले अपराह्न ४ बजेबाट कर्मचारीदेखि सबैजनालाई ग्राहकको सेवामा व्यस्त हुने गरेको बताँउछन्।

धेरै समयको अन्तरालपछि काठमाडौँबाट दसैं मनाउन घर आएकी स्थानीय चेतना पोखरेल पनि बजारमा भीडभाड भएको बताँउछिन्।

बजारमा लत्ताकपडासँगै साथीभाइसँग बेलुका भेटघाटका लागि कफी पिउने वातावरणले बजार सुध्रिँदै गएको उनको भनाइ छ। दसैंको चहलपहलसँगै विराटनगरमा रहेको भाटभटेनी व्यापारिक केन्द्र पनि टीकाको दिनमात्र बन्द भएको थियो। जहाँ सरसमान खरिदका लागि सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्