अधिकारकर्मी रुबी खान अस्पताल भर्ना

फाइल फोटो।

काठमाडौँ– अधिकारकर्मी रुबी खानको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

बाँकेकी नन्कुनी धोबी र निर्मला कुर्मीको ‘हत्या’मा संलग्नलाई कारबाही गर्न माग गर्दै आमरण अनसनमा बसेकी रुबीको स्वास्थ्य जटिल बन्दै गएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अधिकारकर्मी सकिना तेलीले जानकारी दिइन्।

रुबीको नेत‌ृत्वमा असोज  १ देखि २० गतेसम्म पीडित परिवार र महिला अधिकारकर्मीसहित १६ जनाको टोलीले न्यायको माग गर्दै नेपालगञ्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो।

यो पनि पढ्नुहोस्ः नेपालगञ्ज–काठमाडौँ पैदल यात्राको अन्तर्कथा

असोज २२ गते काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेको अवस्थामा प्रहरीले रुबीलाई नियन्त्रणमा लिएर नेपालगञ्ज पठाएको थियो। बहुविवाहको मुद्दामा अदालतबाट पक्राउपूर्जी जारी भएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर नेपालगञ्ज पठाएको थियो। उनले प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेकी थिइन्।

उनको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरण रिट परेपछि सर्वोच्चले बिहीबार उनलाई रिहा गर्न आदेश दिएको थियो। उनलाई पूर्वाग्रह राखेर पक्राउ गरिएको सर्वोच्चको ठहर थियो।

रिहा भएपछि पनि अनसनलाई निरन्तरता दिएकी रुबीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको हो। उनलाई स्वास फेर्न असहज भएको अधिकारकर्मी तेलीले जानकारी दिइन्।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्