प्रदेश १ मा गत २४ घण्टामा १३० जना कोरोना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा प्रदेशभर ५९ महिला र ७१ पुरुष छन्। यस क्रममा झापामा ७१, मोरङामा ४६, पाँचथरमा ३, धनकुटा, उदयपुर, सुनसरीमा समान २, तेह्रथुम, ताप्लेजुङ, ओखलढुंगा र खोटाङमा समान १ जना संक्रमणमुक्त भएका हुन्।

यससँगै प्रदेशमा हालसम्म १ लाख ३ हजार १ सय ५३ जना निको भइसकेका छन्।

प्रदेशमा शनिबार मोरङ र झापामा समान १ गरी कुल २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। अर्कोतर्फ गत २४ घण्टामा प्रदेशमा ४ जनाको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ, सुनसरी, झापा र इलामका समान १ जना छन्। कोरोना संक्रमणबाट हालसम्म २ हजार ८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ सय ६ महिला र १ हजार ३ सय ८२ पुरुष छन्।

प्रदेश १ मा शनिबार २ जनामा कोरोना संक्रमण देखिएको छ। २६ जनाको पीसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षणबाट १ लाख ५ हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा हालसम्म पीसीआर र एन्टिजेन दुवै गरी कुल ६ लाख २२ हजार ९ सय ८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्