भारतले आपूर्ति घटाएपछि पूर्वमा पेट्रोल अभाव

झापा – पूर्वका बजारहरूमा पेट्रोल अभाव भएको छ। इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको मागअनुसार पेट्रोल नपठाइदिएपछि अहिले पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोलियम वितरण गर्न सकिरहेका छैनन्।

मेची पेट्रोलियम डिलर्स एसोसियसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर पेट्रोलको माग छ।

तर भारतको सिलिगुडी डिपोले शनिबार डेढसय किलोलिटर पेट्रोलमात्र नेपाल पठाएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले बताए।

उनले भने, ‘भारतबाटै चाहिए जति पेट्रोल नेपाल आएको छैन। हाम्रो च्यानलबाट भारतमा कुरा गर्ने काम भइरहेको छ।’

दसैँ लागेलगत्तै भारतले पेट्रोल कम पठाउन थालेको मेची पेट्रोलियम डिलर्स एसोसियसनले जनाएको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्