हुम्लाको लिमीमा चिया तातो बनाइरहने अनाैठाे काइदा

सिमकोट – चिसोको साथी हो तातो चिया। अझ घिउ हालेको चियाले शरीर गर्माउँछ।

हुम्लास्थित हिमालपारिको गाउँ लिमीमा अतिथिको स्वागत सत्कारमा यस्तै चियाको प्रचलन अधिक छ। थकान मेटाउने र नास्ताकै रुपमा पनि घिउ घोलिएको नून चिया बढी खाइन्छ। यस्तो चिया हरेकपल्ट खान सधैं पकाइरहन फेरि कम झन्झटपूर्ण हुन्न। तर लिमीवासीले हरेकपटक पकाइरहन नपर्ने गज्जबको काइदा अपनाउँदै आएका छन्। एकपटक पकाएपछि जहिल्यै तातो भइरहने यो काइदा अचम्मैको छ। जुन चलन लिमीवासीको दैनिकी नै भइसकेको छ।

हेर्दा आगो कतै पनि देखिँदैन तर चिया सधैं तातो। लिमीवासीको यो काइदा देखेर नयाँ मानिस जोकोही अचम्ममा पर्ने गर्छन्। चिया तातो बनाइराख्ने चलन अनौठै रहेको छ। जुन चिया गाउँघरमा कोही अतिथि वा पाहुना आएको बेला हातहाती दिन पनि पाइन्छ।
लिमीमा चिया तातो बनाइरहन तामाको भाँडा प्रयोग गरिन्छ। जसभित्र आगोका फिलिङ्गो राखिएको हुन्छ। उक्त भाँडाभरि आगोको फिलिङ्गो राखेपछि त्यसमाथि नून र घिउ घोलिएको चियाको कित्ली राखिन्छ। आगोको फिलिङ्गोको कारण कित्लीको चिया तातो भइरहन्छ। भएन त गज्जबको चिया तातो बनाइरहने काइदा?

पाहुनालाई फूरु (काठको चिया पिउने कप) मा त्यही चिया राख्ने गरिन्छ। ‘यसरी चिया दिँदा नयाँ मानिसहरु अचम्म मान्ने गर्छन्’, लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले भने, ‘कसैले अचम्म मान्दै सोध्ने पनि गरेका छन्।’

उनका अनुसार यसरी चियाको कित्ली राख्नुको मुख्य कारण भने आगो बाल्दा घुँवा हुने र बाले पनि आगो छिट्टै निभ्ने भएकाले तामाको भाँडोमा गोल हाल्दा लामो समयसम्म तातो भइरहन्छ। चियालाई तातो राखिराख्न पहिलेदेखि नै यस्तो व्यवस्था गरिएको उनले स्पष्ट पारे।
‘अर्कोतर्फ यसले दाउरा पनि किफायती गर्न सघाउाँछ’, वडा अध्यक्ष तामाङले थपे, ‘यसबाट आगो नबालिकनै तातो चिया पाहुनालाई खुवाउन पाइने भयो।’

उनका अनुसार कित्लीमा चिया सकिए थप्ने गरिन्छ। यो भाँडाको बढी प्रयोग गाउँमा सार्वजनिक कार्यक्रम हुँदा गरिन्छ। कार्यक्रम ठूलै भए चार–पाँच ठाउँमा यस्ता भाँडा राखेर तातो चियाको बन्दोबस्त गरिन्छ। गाउँमा विकास निर्माणका कामका बेला स्थानीयले यही विधि प्रयोग गरेर तातो चिया खाने गरेका छन्।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्