साफ यात्रा, प्रशिक्षक अल्मुताइरीको अभाव र खेलाडीको प्रदर्शन

तस्बिरः एन्फा।

भारतसँग ३-० ले स्तब्ध भएसँगै साफ च्याम्पियनसिपको पहिलोपटक उपाधि हत्याउने नेपालको लक्ष्य अधुरो रहन पुग्यो।

२८ वर्षअघि साग च्याम्पियनसिपमा भारतलाई ४–२ ले पेनाल्टीमा पराजित गर्दै उपाधि चुमेको नेपाल यसपटक आफ्नै कमजोरीले उपाधि विमुख हुन पुगेको छ।

पाँच देशमात्रको सहभागितामा आयोजित प्रतियोगितामा नेपाली टोलीलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो। लिग चरणको खेलमा टोलीको प्रदर्शनलाई स्तरीय मानिए पनि उपाधि भिडन्तमा भारतविरुद्ध दबाबमा देखिएको थियो।

पूर्वकप्तान एवं प्रशिक्षक राजुकाजी शाक्यका अनुसार आफ्नै कमीकमजोरीका कारण नेपाली टोलीले हार व्यहोर्नु परेको हो। पहिलो हाफमा टोलीको खेल तारिफयोग्य भए पनि दोस्रो हाफमा टोली पूर्ण रुपमा चुकेको उनको मूल्यांकन छ।

त्यसैगरी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रतियोगितामा स्पस्ट दिशानिर्देश हुन नसक्दासमेत नेपाली टोली उपाधिमा चुकेको देखिन्छ। फुटबल विश्लेषक सञ्जीव मिश्रका अनुसार व्यावसायिक प्रशिक्षकले प्रतियोगितालाई सबै कोणबाट परख गर्न सक्नुपर्थ्याे तर उनी फाइनलमा चुके।

नेपाली टोलीले फाइनलमा ३-० को हार व्यहोर्ने अपेक्षा धेरै कमको थियो तर नतिजा सोही अंकमा आएको छ।

मैदानमा टोली

पूर्वप्रशिक्षक शाक्यका अनुसार २८ वर्षअघि साग च्याम्पियनसिप र अहिले धेरै परिवर्तन आइसके पनि टोलीमा खासै परिवर्तन आएको देखिएन। भारतसँग खेल्न दबाब भए पनि खेलाडीले पहिलोहाफ स्तरीय खेलेको बताएका शाक्यले दोस्रो हाफमा टोलीको लय बिग्रेको र भारतले दबाबमा राख्न सफल भएको बताए।

तयारी समय कम भएको बताँउदै उनले भने, ‘अघिल्लो संस्करणमा भारतले दोस्रो चरणको टोली सहभागी गराए पनि यसपटक पहिलो रोजाइको टोली नै मैदानमा उतारेको थियो। तर हामी प्रतियोगिता हेरेर १० दिन १५ दिनको तयारीबाट जुट्छौं। समय पुरा दिन सक्दैनौं र नतिजा उत्कृष्ट अपेक्षा गर्छौं। तर प्रतियोगितापूर्व केही विदेशी देशमा मैत्रीपूर्ण अभ्यास खेल पनि नतिजा सुखद आउन सकेन।’

भारत सन् २०२६ विश्वकपको लक्ष्य लिएर तयारी गरिरहेको छ। त्यसैगरी भारतको लक्ष्य एसिया कप पनि रहेको छ। मैदानमा बल होल्ड गर्न नसक्नु, मिडबाट बललाई सटिक पास निकाल्न नसक्नु, खेलाडीमा दबाब झेल्ने मनोविज्ञानले काम नगर्दा टोलीमा समस्या देखिएको थियो।

फुटबल विश्लेषक मिश्रले फाइनलमा टोलीको रणनीतिलाई आत्मसात गर्न नसक्दा समस्या देखिएको बताए। उनले भने, ‘सुरुमा ४–२–३–१ को रणनीति बनाए पनि मैदानमा ४–५–१ मा खेलिएको देखियो।

बल पोजिसन र खेलाडीले बल होल्ड गर्ने कुरामा चुकेको देखियो। एयर बलमा जोड दिएको टोलीले भारतको अग्ला डिफेन्स र गोलरक्षकलाई समस्यामा पार्न सकेन। एयर बल खेलिरहँदा त्यसको प्रभाव भारतीय पक्षमा देखिएन।’

नेपाली टोलीले विपक्षी खेलाडीलाई समेत मार्क गर्न नसकेको उनको भनाइ छ। त्यसमा पनि खेलको ४९ र ५० मिनेटमा लगातार दुई गोल हुँदा टोली पूर्ण रुपमा दबाबमा आएको थियो।

प्रशिक्षकको भूमिका

प्रतियोगितामा प्रशिक्षक अल्मुताइरीको भूमिका सोचे जस्तो देखिएन। प्रो. लाइसेन्स प्राप्त प्रशिक्षकमा अनुभवको कमी देखिएको छ। भारतविरुद्ध लिग चरणको खेलपूर्व प्रशिक्षकले दिएको अभिव्यक्ति आफैमा विवादास्पद छ।

राष्ट्रिय टोलीको प्रशिक्षकले रणनैतिक रुपमा भारत ९५ प्रतिशत र नेपाल ५ प्रतिशत जीतको पक्षमा रहेको भनिनु नै पराजित मानसिकता रहेको देखिन्छ।

विश्लेषक मिश्र भन्छन्, ‘प्रशिक्षकले फाइनल र उपाधि रक्षा गर्ने सोच राख्नुपर्छ। अल्मुताइरीले लिगमै भारतले जित ९५ भनेर अभिव्यक्ति दिनु गलत थियो। त्यो अभिव्यक्ति रणनीतिक हुन्थ्यो भने फाइनलमा त्यो बोली सच्चिनुपर्थ्याे दोहोरो पहे‌लो कार्ड र निलम्बनबारे प्रशिक्षकलाई जानकारी हुँदाहुँदै पनि गलत गतिविधि गर्नु र फाइनलमा खेलाडीसँग नहुनु कमजोरी रह्यो।’

नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म प्रशिक्षकले सजाय पाएर मैदान बाहिर दण्डित भएको अवस्था थिएन। अल्मुताइरी जति आक्रमणक र रणनीतिक छन्, त्यति नै पूर्वप्रशिक्षकद्वय ग्राहम रोबटर्स र स्टीफन कन्स्टेन्टाइन पनि थिए।

तर उनीहरुले खेलको मर्यादालाई नाघेनन्। महत्वपूर्ण प्रतियोगितामा मैदान बाहिर उनीहरु भएनन्। पूर्वप्रशिक्षक शाक्यले भने, ‘प्रशिक्षक अल्मुताइरीले टोलीलाई चाहिएको बेला समय दिन सकेनन्। उनको आवश्यकता फाइनल जिताउनका लागि थियो तर आफै मैदान बाहिर बसे।’

यससँगै सहायक प्रशिक्षकको भूमिका पाएका किरण श्रेष्ठका लागि फाइनल खेल दबाब र अवसर दुवै रहेको थियो। लामो समय सहायक प्रशिक्षकको जिम्मेवारी बहन गर्दै आएका श्रेष्ठ फाइनलमा दबाबमा देखिए। अनुभव र मुख्य प्रशिक्षकसँगको उठबसले उनलाई बलियो बनाएको हुनुपर्ने थियो।

डिफेन्सका दिनेश राजवंशीले मध्य भागसम्म बल एक्लै लैजानु र त्यही बल खोसेर भारतले काउन्टरमा गोल फर्काएकोमा समेत प्रशिक्षक श्रेष्ठ निरीह देखिए।

९० मिनेटपछि थप गरिएको समयमा डिबक्सभित्र भारतका साहल अब्दुल समादले एक्लैले गोल गर्दा डिफेन्स खेलाडी रोक्न असफल हुनुले पनि टोली हतास र निरास भएको देखिन्थ्यो। प्रशिक्षक श्रेष्ठ फाइनललाई लिएर दबाबमा रहे पनि त्यसबाट बाहिर निस्कन नसक्दा टोली चुकेको विश्लेषकद्वयको बुझाई छ।

भारतसँग ५ प्रतिशत जीतको सम्भावना, श्रीलंकाले समस्या दिनसक्ने भनाइ, फाइनलमा मैदान बाहिर र हारपछि नेपाली मेरो मुटुमा रहेकोलगायतका अभिव्यक्ति मुख्य प्रशिक्षक अल्मुताइरीले राखेका छन्।

मनोविज्ञानका विद्यार्थी पनि रहेका मुख्य प्रशिक्षक अल्मुताइरी नेपालीमाझ सद्भाव बटुल्न सफल छन्। यद्यपि उनले टोली सम्हाँल्दा टोलीमा रक्षापंक्ति र अग्रभागमा कमजोरी थियो र उनले टोली छाड्ने घोषणा गर्दा टोलीको कमजोरी यथावत नै रहेको छ।

मौसमको असर

माल्दिभ्सको राजधानी मालेस्थित रंगशालामा भएको फाइलन खेल अन्य खेलभन्दा फरक स्थितिमा रहेको थियो। साफमा सातपटक उपाधि चुमेको भारतलाई आठौं उपाधिको र नेपाललाई पहिलो उपाधिको दबाब मैदानमा प्रस्ट थियो।

यद्यपि खेल सुरुवातसँगै मैदानमा खेलाडीलाई वर्षाले स्वागत गरेको थियो। नेपाली टोलीलाई भने वर्षा अनुकूल भएको विश्लेषक मिश्रको भनाइ छ। अन्डरडगका रुपमा रहेको नेपाललाई वर्षा फाइदाजनक रहेको उनले बताए।

त्यसैगरी फिफाका पूर्वरेफ्री किरण गिरी पनि वर्षा नेपाली टोलीका लागि सकारात्मक रहेको बताउँछन्।

धेरैले वर्षाको कारण नेपाली खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको भनाइ राखिरहँदा गिरी भन्छन्, ‘विगतको नतिजा हेर्दा वर्षामा नेपाली खेलाडीको प्रस्तुति राम्रो देखिन्छ। हारका विभिन्न कारण हुन्छन् तर वर्षा नै हारको कारण भनिनु चाहिँ भारतसँग ३-० को हारलाई ढाक्ने प्रयासमात्र हो।’

वर्षा र हिले मैदानमा सन् २०१३ मा दशरथ रंगशालामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई समान १ गोलको बराबरीमा रोकेको थियो। त्यसैगरी सन् २०१४ मा पूर्वी टिमोरविरुद्ध टोलीले दशरथ रंगशालामा सम्पन्न विश्वकप छनोटको दोस्रो लेगमा ५-० को जीत निकालेको थियो।

नेपालको खेल

पाँच टोली सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक देश माल्दिभ्सलाई १-० शून्यले पराजित गरेको थियो। जसमा मनिष डाँगीको एकमात्र गोल निर्णायक बनेको थियो। त्यसपछि दोस्रो खेलमा टोलीले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

जसमा सुमन लामा, आयुष घलान र अन्जन विष्ट गोलकर्ता रहेका थिए। लिगको चाैथाे खेलमा टोली बंगलादेशसँग समान १-१ गोलको बराबरीमा रोकिएको थियो। लिगको तेस्राे खेलमा भारतसँग नेपाल १-० गाेलले पराजित भएको थियो। यसबीच अन्जन विष्टमा एक्ला खेलाडी भए जो दुई गोल गर्न सफल रहे।

यद्यपि फाइनलमा उनी दोहाेरो पहेंलो कार्ड पाएर मैदान बाहिर नै रहेका थिए। प्रतियाेगितामा भारतका कप्तान सुनिल क्षेत्रीले ५ र माल्दिभ्सका अली अस्फाकले ३ गोल गर्न सफल भए।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्