समाजवादीको योजनाः प्रत्येक वडामा एक सय संगठित सदस्य, मंसिरभित्र कार्यालय स्थापना

फाइल तस्बिर।

काठमाडौँ – एकीकृत समाजवादीले पार्टीलाई गति दिन महत्वाकांक्षी योजना अघि सारेको छ।

बिहीबार अध्यक्ष माधवकुमार नेपालले जारी गरेको ‘अन्तरपार्टी निर्देशन–२’ मा संगठन निर्माणका लागि महत्वाकांक्षी योजनाका साथ अघि बढ्न भनिएको छ।

अध्यक्ष नेपालले जारी गरेको अपानीमा समाजवादीले प्रत्येक वडामा एक सय जना संगठित सदस्य बनाउने योजना अघि सारेको छ। देशभरमा ६ हजार ७ सय ४३ वटा वडा छन्, सय जनाका हिसाबले ६ लाख ७४ हजार तीन सयजना संगठित सदस्य हुनेछन्।

त्यस्तै पार्टी सदस्यका रुपमा सबै वडामा एक हजार जनालाई आबद्ध गराउन अध्यक्ष नेपालले निर्देशन दिएका छन्। समाजवादीले एमालेको संगठित सदस्यतालाई नै मान्यता दिएर नवीकरण गर्ने भएको छ।

संगठित सदस्यता दिँदा सबै पेशा र व्यवसायमा आबद्धलाई समेट्ने उल्लेख छ।

अध्यक्ष नेपालले जारी गरेको अपानीमा उल्लेख गरिएको छ, ‘पहिले नेकपा (एमाले) को संगठित सदस्यताको लिस्ट प्राप्त गर्ने र संगठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम राखी नवीकरण गर्ने। यस्तो नवीकरण गर्दा विगत वर्षको सदस्यता शुल्क र लेवी अनिवार्य नगरी स्वेच्छिक सहयोगका रूपमा प्राप्त गर्न सकिने छ। मापदण्ड पुरा गरेका व्यक्तिहरूलाई प्रक्रिया पूरा गरेर व्यापक रूपमा नयाँ संगठित सदस्यता वितरण गर्ने।’

पार्टीले तीन महिनाभित्र पार्टी र जनसंगठनका विभिन्न कमिटीमा संगठित भएका सबै व्यक्तिहरूलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय लिएको छ। त्यस्तै पार्टी सदस्यतालाई व्यवस्थित रूपमा डिजिटल माध्यममा अभिलेख राख्ने र मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्न भनिएको छ।

त्यस्तै पार्टीका सबै जिल्ला र पालिका तहका कमिटीहरूले बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्ने, पार्टी कार्यालयलाई प्रभावकारी बनाउने अन्तरपार्टी निर्देशनमा उल्लेख छ।

समाजवादीका मन्त्रीलाई पार्टीको १० बुँदे आचारसंहिता

समाजवादीले आफ्नोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई दश बुँदे लिखित निर्देशन दिएको छ। अन्तरपार्टी निर्देशनमा मन्त्रीहरुलाई समेत लिखित आचारसंहिता तोकिएको हाे।

देश र जनताको हितका लागि काम गर्न पार्टी सरकारमा सहभागी हुन पठाएको उल्लेख गर्दै अध्यक्ष नेपालले अनियमितता र भ्रष्टाचारबाट मुक्त्त रहन भनेका छन्। विवादरहित कार्यकाल बनाउन निर्देशन दिँदै अध्यक्ष नेपालले सरल जीवनशैली अपनाउन भनेका छन्।

यस्तो छ समाजवादीले मन्त्रीहरुलाई दिएको लिखित निर्देशन।

१. इमानदारिता र कर्तव्य निष्ठाका साथ काम गर्न।

२. राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न।

३. निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन।

४. योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनाेट गरी जिम्मेवारी दिन।

५. विवादमा पर्ने कुनै पनि काम नगर्न।

६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न।

७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न।

८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन।

९. नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न।

१०. पाँचदलीय गठबन्धनको भावनाअनुरुप अन्य दलहरुसँग सहकार्य गर्न।

यस्तो छ अध्यक्ष नेपालले जारी गरेको अन्तर पार्टी निर्देशन

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्