के कट्रीना क्याफ विक्की कौशलसँग विवाह गर्दैछिन्?

सन् २०१९ मा भएको एक अवार्ड कार्यक्रममा भारतका उदयमान अभिनेता विक्की कौशलले अभिनेत्री कट्रीना क्याफलाई जिस्काइ जिस्काइ विवाहको लागि प्रस्ताव राखेका थिए। यी दुईको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

भाइरल हुनुको अर्को कारण थियो, कट्रीनाका नजिक रहेका सुपरस्टार सलमानले यो भिडियोमा अचम्मको हाउभाउ देखाएका छन्। जब विक्कीले कट्रीनालाई भन्छन्, ‘मुझसे शादी करोगी?’

कट्रीनाले हाँस्दै भनेकी थिइन्, ‘हिम्मत नही है।’

दुई वर्ष अगाडिको यो प्रसंग अहिले फेरि सामाजिक सञ्जालमा यी दुईको प्रेमको विषयमा चर्चा शुरु हुन थालेको छ। किनभने हिजो आज विक्की र कट्रीना धेरै ठाउँमा एक साथ देखिन थालेका छन्। सामाजिक सञ्जालमा पनि एकअर्काको बारेमा खुलेर कुराकानी गर्न थालेका छन्।

दुईबीचमा प्रेम सम्बन्ध नै हो भनेर भन्न सकिने घटना नभए पनि विक्कीको कट्रीनाप्रतिको लगाव र यी दुईको हिमचिमले सम्बन्ध सामान्यभन्दा केही अगाडि बढेकोतर्फ इशारा गर्छ।

३३ वर्षका विक्की धेरैपल्ट कट्रीनाको घरमा पुगेका छन्। गतवर्ष विक्कीलाई कोरोना भाइरस संक्रमण भएको भोलिपल्ट कट्रीनालाई पनि कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको थियो।

त्यसपछि कयौँ पार्टीमा साथ साथ हिँडेका यी दुईका साथी सर्कलले पनि उनीहरु प्रेममा रहेको बताउने गरेका छन्। अनिल कपूरका छोरा हर्षवर्द्धन कपूरले दिएको एक अन्तवार्तामा विक्की र कट्रीना साथ रहेको खुलासा गरे । उनले आफू यो कुरा अभिव्यक्त गरेपछि समस्यामा पर्न सक्ने अनुमान त लगाए तर पनि कट्रीना र विक्की साथ भएको बताए।

पछिल्लो पटक भने दर्शक र फ्यानको अनुमान अझ बलियो भयो। विक्की अभिनित चलचित्र ‘सरदार उधम’ प्रदर्शन भएपछि कट्रीनाले विक्की र यो चलचित्रका निर्देशकको खुलेर तारिफ गरिन्। यो चलचित्रको प्रिमियरमा पनि कट्रीना पुगेकी थिइन्। यसलगत्तै यी दुईले टिकाटालो गरेको खबर बाहिरिएको छ।

चलचित्रको सफलतामा रमाइरहेका विक्कीले यो खबर झुटो भएको त बताए तर उनीहरुमाथि चासो राख्नेको मनमा अर्को खुलदुली थपिदिए। उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘त्यो खबर झुटो हो, तर म चाँडै नै टिकाटालो गर्दैछु, जब समय सही हुन्छ।’

विक्की र कट्रीनाको टिकाटालोको खबर सार्वजनिक भएलगत्तै यी दुईका पुराना भिडियो, फोटो फेरि सार्वजनिक भएको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्