बाँकेमा ६ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा उपचारका क्रममा बर्दियाका ३८ वर्षीया महिलाको मृत्यु भएको छ।

बर्दिया बाँसगढी नगरपालिका–९ का ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ। असोज २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको बिहान साढे सात बजे मृत्यु भएको हो।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय २४ जनाको मृत्यु भएको छ।

यसैबीच, आइतबार बाँकेमा ६ जनालाई कोरोना देखिएको छ। यहाँका तीन वटा ल्याबमा ४५ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो। कोरोना देखिएकामध्ये ४ जना बाँके जिल्लाका छन्।

भेरी अस्पतालमा १० जनामा एक जना, कोहलपुर मेडिकल कलेजमा २४ जनामा ५ जनालाई कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा ११ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन। जिल्लामा आइतबार १४ जना डिस्चार्ज भएका छन्।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्