दसैँमा सहकारीमार्फत ४ करोड ३९ लाख बराबरका खसीबोका बिक्री

फाइल फोटो।

दमौली – नेपालीहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत साढे ४ करोड रुपैयाँ बराबरका खसीबोका बिक्री भएका छन्। महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै चार करोड ३९ लाख ३४ हजार १३ सय रुपैयाँको खसीबोका बिक्री गरेका हुन्।

असोजमा ती सहकारीले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए। सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ। खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए।

घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन्।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत २८ लाख ३८ हजार ३२४, आधारशिला सामाजिक महिला उद्यमी सहकारीमार्फत ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत ३० लाख २८ हजार १ सय ५८ को खसी बिक्री भएको छ।

ती सहकारीमार्फत एक हजार ४ सय ८८ खसीबोका बिक्री भएका छन्। घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताए।

भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताए। ‘यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्न हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ,’ उनले भने।

भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भनिन्, ‘प्रत्येक वर्ष दसैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चाडपर्व मनाउन पाउने गरेका छन्।’

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत १० सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ।

सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन्। बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ।

हेफर इन्टरनेसनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्‍याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्