बागलुङमा वर्षाले पाकेको धान बाली नष्ट

फाइल तस्बिर

गलेश्वर – वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि बागलुङका किसान चिन्तित भएका छन्। धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेको छ। भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए।

‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ’, उनले भने, ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो?’

जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको धानबालीमा क्षति पुगेको किसानले बताएका छन्। पानी परेसँगै जाडो बढेको छ। उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्ये भएको र दसैँका लागि घरआएका व्यक्ति कार्यक्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए। ‘सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो’, बेनी –१ को अर्जमबाट देवी थापाले भने, ‘गाडी चल्न सक्ने अवस्था नै छैन।’

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्