नवलपरासी र नुवाकोटमा बस दुर्घटना हुँदा ७२ जना घाइते, १० को अवस्था गम्भीर

फाइल तस्विर

काठमाडौँ – नवलपरासी र नुवाकोटमा भएको यात्रु बाहक बस दुर्घटना हुँदा ७२ जना घाइते भएका छन्।

दसैँ मनाएर काठमाडौँ फर्किरहेका बस दुर्घटनामा परेका हुन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका हुन्।

सोमबार बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको गिरीले जानकारी दिए।

नुवाकोटमा पनि दुर्घटना

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको हो। छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्