दसैं सुरु भएसँगै अकासिएको तरकारी र फलफूलको भाउ घट्न थाल्यो

काठमाडौँ – दसैं सुरु हुँदा अकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो।

दसैँको समयमा खासगरी गोलभेडा, काँक्रो, काउलीलगायत केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याजलगायतको मूल्य सामान्य बढेको थियो। दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताले गुनासो थियो। तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए। गोलभेडा, काउली, बोडीलगायत केही तरकारीको मूल्य सोमबारबाट घटेको उनले जानकारी दिए।

यस वर्ष बढी वर्षा भएका कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकाले मूल्य वृद्धि भएको दाबी गरे। दसैँका बेला भारतबाट पनि तरकारी धेरै नआउने भएकाले मूल्य बढेको उनको भनाइ छ।

उनका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म सामान भित्रिएको थियो। अष्टमीको दिन भने ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएकोे थियो।

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वका बेला अनुगमनलाई तीव्रता दिने गरे पनि व्यापारीले भने हरेक वर्ष हरेक सामानको मूल्य अत्यधिक वृद्धि गर्दै आएको उपभोक्ताले गुनासो गरेका छन्।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्