भारतलाई थाहै नदिइ भुटानले गर्यो चीनसँग सीमा विवाद सुल्झाउने सहमति

विवादित दोक्लाम क्षेत्र

काठमाडौँ – भारतको उपस्थित विनै चीन र भुटानले सीमा विवाद समाधान गर्ने सहमित गरेका छन्।

अहिलेसम्म भुटानको विदेश र सैन्य नीति भारत नियन्त्रित मानिँदै आएको अवस्थामा भुटानले भारतलाई ‘बाइपास’ गरेर सीमा विवाद सुल्झाउने सहमति गरेको हो।

चीन र भुटानले सीमा विवाद समाधानकालाई तीन चरणको ‘रोडम्याम’ सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेसँगै भारतले चनाखो हुँदै ‘सर्तकात्मक प्रतिक्रिया’ दिएको छ।

गएको बिहीबार भर्च्युअल माध्यमबाट चीन र भुटानले सीमा विवाद समाधानका सम्बन्धमा सहमति पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्। सो सहमतिले चीनसँगको सीमा विवादलाई लिएर भारतको स्थान तथा अडानमा रणनीतिक महत्व राख्ने देखिन्छ।

तीन देश (चीन, भारत र भुटान) को सीमा क्षेत्र (त्रिदेशीय विन्दू) दोक्लाममा चार वर्ष पहिले चीन र भारतबीच ७३ दिनसम्म तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

अहिले भुटानले चीनसँग आफ्नो सीमा विवाद समाधानका लागि सहमति पत्रमा हस्ताक्षर गरेसँगै भुटान भारतका लागि चीनसँग सीमा विवादलाई लिएर प्रस्तुत गर्ने दाबी वा अडान कमजोर हुन सक्ने विश्लेषण गरिएको छ।

चार वर्ष पहिले भुटानले आफ्नो दाबी गर्दै आएको क्षेत्रमा चीनले बाटो विस्तारको प्रयास गरेपछि भारत र चीनबीच तनावको अवस्था आएको थियो। भारतले भुटानको दाबीमा समर्थन गरेको थियो । चीन र भारतले सीमा क्षेत्रमा सैनिकको तैनाथी बढाएका थिए।

तर अहिले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापित नभएको भुटानले सीमा विवाद समाधानका लागि ‘थ्री–स्टेप रोडम्याप’ मा सहमति जनाउनु भारतको उपस्थितिलाई पन्छाउने प्रयासका रुपमा विश्लेषण गरिएको छ।

विवादित क्षेत्रमा उपस्थित भएका चिनियाँ र भारतीय सैनिक।

चीनमा भुटानको कूटनीतिक सम्बन्ध वा गतिविधि भारतको नयाँ दिल्लीस्थित मिसनबाट हुँदै आएको छ।

गएको बिहीबार भुटानका विदेशमन्त्री तान्दी दोर्जी र चीनका सहायक विदेशमन्त्री वू च्याङहाओले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीन र भुटानबीच सीमा विवाद समाधानको प्रयासलाई लिएर सहमति भएको जानकारी आएको प्रतिक्रिया दिएका थिए। उनले सहमतिको खबर आएपछि भनेका थिए, ‘चीन र भुटानले सन् १९८४ देखि वार्ता गर्दै आएका हुन् । हामीले पनि वार्ता गर्दै आएका छौँ।’

दुई देशबीच भएको सहमति कसरी अघि बढ्छ भन्ने कुराले भारतको सुरक्षा चासोमा प्रभाव पार्न सक्ने ग्लोबल रिस्क इन्टिलिजेन्शमा दक्षिण एसियाली सुरक्षा सम्बन्धका अध्ययता अरविन्द जोशीले टिआरटी वर्ल्डलाई बताएका छन्।

भारतको उत्तर पूर्वी राज्यहरुको केन्द्रसँग गुनासो कायम रहेको अवस्थामा चीन र भुटानबीच भएको सहमति भारतका लागि चासो र चिन्ताको विषय बन्न सक्ने उनको भनाइ छ।

चीन र भुटानबीच भएको सहमतिको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन । तर भारतसँग भएको तीन चरणको सीमा विवाद समाधान प्रक्रिया जस्तै भुटानसँगको अहिलेको सहमति रहेको चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेको छ।

सीमा विवाद समाधानका लागि राजनीतिक मापदण्ड र मार्गदर्शक सिद्धान्तहरु, विवाद समाधानका लागि वार्ताको फ्रेमवर्क तथा तेस्रो चरणमा सीमाकंन गर्ने गरी चीन र भारतबीच सहमति भएको थियो।

चीन र भारतले पहिलो चरण सन् २००५ तिर पूरा गरे पनि दोस्रो चरणको काम अझै जारी छ। अहिले भुटानसँग भएको सहमति पनि उस्तै रहेको चिनियाँ भनाई छ । तर आफूलाई बाहिर राखेर भुटानले चीनसँग सीमा विवाद समाधानको रोडम्यापमा सहमति गरेपछि भारत भने चनाखो भएको छ ।

तर चीनले भने भुटानसँग भएको अहिलेको सहमतिलाई विवाद समाधान प्रयासमा ब्रेकथ्रु भनेको छ। चीन र भुटानबिच सन् १९८४ यता सीमा विवाद समाधानको विषयमा २० चरणमा वार्ता भइसकेको थियो। विगतमा भुटानसँगको द्विपक्षीय सीमा विवाद समाधान प्रयासमा ‘भारत बाधक’ का रुपमा प्रस्तुत हुँदै आएकोमा अहिलेको सहमतिसँगै विवाद समाधानको प्रयासले गति लिने चिनियाँ दाबी छ।

(द हिन्दू, टिआरटी वर्ल्ड र हिन्दुस्तान टाइम्सको सहयोगमा)

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्