मोरङमा बैंक लुटपाटमा संलग्न एक भारतमा समेत हत्या आरोपी

हत्या आरोप विजय सहनी रातो सर्टमा।

मोरङ– मोरङको धनपालथान गाउँपालिकास्थित कर्सियामा रहेको बैंक लुटपाटमा संलग्न एक व्यक्तिमाथि हत्या आरोप रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न एक भारतीय नागरिक हत्या आरोपी रहेको खुलेको हो।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले कटहरीको एक कार्यालयमा कार्य गर्दै आएका विजय सहनीमाथि भारतमा हत्या आरोप रहेको खुलेको बताए।

प्रहरी प्रमुख जिसीले बैंक लुटपाटपछि ३० वर्षीय सहनीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनीविरुद्ध भारतको अररिया जिल्लामा हत्या अभियोगको आरोप रहेको छ।

सहनीमाथि भारतकै २५ वर्षीय शिवशंकर कुमार यादवलाई गतवर्ष जेठ १४ गते गोली हानी हत्या गरेको आरोप छ। सहनी अररिया जिल्लाका गडुराहपुर नरपथगञ्ज थाना इलाकाका स्थानीय हुन्। घटनापछि मृतक शिवशंकरका बुबा रामप्रकाश यादवले विजय सहनीसहित ९ जनाविरुद्ध जाहेरी दिएको खुलेको छ।

यादवले छोराको हत्यासँगै आफू र परिवारमाथि समेत ज्यान मार्ने धम्की आएको प्रहरी जाहेरीमा खुलेको छ।

मोरङ प्रहरीका अनुसार भारतमा हत्या आरोपी सहनी पछिल्लो समय कटहरी गाँउपालिकास्थित एक नीजि कार्यालय(फर्म)मा कार्यरत रहेका थिए।

कर्सियास्थित बैंक लुटपाटका क्रममा सहनीलाई आफ्नै साथीले चलाएको पेस्तोलको गोली लागेको थियो। गोली लागि घाइते भएका सहनीलाई लिएर मोटरसाइकलमा भाग्ने क्रममा अन्य दुई लुटेरालाई समेत प्रहरीले भारतको सीमा नजिकबाट नियन्त्रणमा लिएको थियो।

हत्यापछि फरार रहेका विजय विराटनगर आएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार विजय सहनी कटहरीको एक फर्ममा काम गर्दै आएका थिए।

असोज २५ गते ८ जनाको समूहले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ सिटिजन्स बैंकबाट लुटपाट गरेको थियो। लुटपाटको योजनाकार विराटनगरका ३२ वर्षीय श्याम मुखिया थिए। मुखियासँगै हालसम्म लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिसकेको छ। बैंक लुटपाटमा ७ जनाको संलग्नता रहेको जनाउँदै मोरङ प्रहरीले सोमबार रोशन यादव पक्राउ गरेको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्