सरकारसँग सहमति भएसँगै रुबी खानले अनसन तोडिन्

फाइल फोटो।

काठमाडौँ– सरकारसँग सहमति भएसँगै रुबी खानले अनसन तोडेकी छन्। उनले मंगलबार माइतीघर मण्डलामा अनसन तोडेकी हुन्।

बाँकेकी नन्कुन्नी धोबीको ‘हत्या’ र निर्मला कुर्मी ‘बेपत्ता’ प्रकरणको छानबिन गर्न सरकारले समिति गठन गरेपछि उनले अनसन तोडेकी हुन्।  सरकारले गृह मन्त्रालय सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्द शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहेका छन्।

उनलाई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन्। अनसन तोडेपछि उनले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताइन्।

खानले भनिन्, ‘समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै कन्जुस्याँइ गर्छ भने हामी योभन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु, यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्। देशका जतिपनि महिलाहरु हिंसामा पर्नुभएको छ, हिंसाबाट मारिनुभएको छ, उहाँहरुको न्यायका लागि म आमरण अनसन बसेकी हुँ। हाम्रो आन्दोलन उहाँहरुका लागि हो, महिलाहरुको न्यायका लागि हो।’

अधिकारकर्मी खानको नेतृत्वमा १६ जनाको टोलीले नेपालगञ्जदेखि काठमाडौँसम्मको पैदल यात्रा गरेको थियो। असोज १ गते नेपालगञ्जबाट हिँडेका उनीहरु असोज २० गते काठमाडौँ आइपुगेका थिए।

उनीहरुले नन्कुन्नीको ‘हत्या’ र निर्मला ‘बेपत्ता’ प्रकरणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन र बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेलाई विभागीय कारबाही गर्नुपर्ने माग राख्दै असोज २२ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए।

सोही क्रममा प्रहरीले असोज २२ गते बहुविवाहको मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएको भन्दै रुबी खानलाई पक्राउ गरी नेपालगञ्ज पठाएको थियो। पक्राउ परेपछि उनले प्रहरी हिरासतमै आमरण अनसन सुरु गरेकी थिइन्।

सर्वोच्च अदालतको आदेशपछि रुबी असोज २८ गते छुटेकी थिइन्। रिहा भएपछि पनि अनसनलाई निरन्तरता दिएकी रुबीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ३० गते अस्पताल भर्ना गरिएको थियो।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्