एमालेले फर्कायो ‘वरिष्ठ नेता’, तर पदाधिकारी नमानिने

एमाले विधान महाधिवेशनको फाइल तस्विर।

काठमाडौँ – एमालेले वरिष्ठ नेताको पद फर्काएको छ।

असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा चलेको पहिलो विधान महाधिवेशनमा पेश गरिएको संशोधन प्रस्तावमा वरिष्ठ नेता हटाउने प्रस्ताव गरिएको थियो।

तीन दिनसम्म चलेर विधान संशोधन सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा पनि उपमहासचिव विष्णु पौडेलले पनि वरिष्ठ नेता नरहने उल्लेख गरेका थिए। तर सोमबार सार्वजनिक भएको एमालेको संशोधित विधानमा भने वरिष्ठ नेताको पद राखिएको छ।

विधान महाधिवेशनले दिएका सुझाव समेटेर विधानलाई अन्तिम रुप दिने जिम्मेवारी स्थायी कमिटिले पाएको थियो। नेताहरुले त्यही स्थायी कमिटिबाट पुनः वरिष्ठ नेताको पद ब्युँत्याएको एक नेताले जानकारी दिए।

एमालेले नवौँ महाधिवेशनबाट निवर्तमान पार्टी अध्यक्षलाई स्वतः दोस्रो वरियता दिने गरी वरिष्ठ नेताको पद सिजर्ना गरेको थियो। विभाजनअघिसम्म वरिष्ठ नेता झलनाथ खनाल रहँदै आएका थिए।

अन्तिम रुप दिएर पार्टी कार्यालयले सार्वजनिक गरेको विधानको धारा १६ (५)मा उल्लेख गरिएको छ, ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुनेछन्। महाधिवेशनले अन्यथा निर्धारण गरेकोमा बाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ।’

वरिष्ठ नेतालाई दोस्रो मर्यादाक्रम दिइए पनि पार्टीको पदाधिकारी मानिने छैन। विधानको धारा ३ को उपधारा ७ मा पदाधिकारीको परिभाषामा वरिष्ठ नेता छुटाउँदै लेखिएको छ, ‘पदाधिकारी’ भन्नाले केन्द्रीय कमिटीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलाई बुझाउनेछ।’

पदाधिकारीहरुको स्वत सचिवालय व्यवस्था विधानले गरेको छ। एमालेमा ४५ सदस्यीय स्थायी कमिटि हुनेछ। त्यस्तै राष्ट्रिय महाधिवेशनले अध्यक्ष– १, वरिष्ठ उपाध्यक्ष– १, उपाध्यक्ष– ४, महासचिव– १, उपमहासचिव– १, सचिव– ७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने कुरा उल्लेख छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन्।

एमालेले संविधानमा दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने भनि उल्लेख गरेका विषयको पक्षमा पार्टीभित्र पनि दुई तिहाइ नै बहुमत हुनुपर्ने व्यवस्था गरेको छ।

विधानको धारा ९६ मा उल्लेख गरिएको, ‘दुई तिहाई बहुमत चाहिने नेपालको संविधानले व्यवस्था गरेबमोजिम संसद्को दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्ने विषयमा निर्णय लिँदा केन्द्रीय कमिटीको दुईतिहाई बहुमत आवश्यक हुनेछ।’

विधानले पार्टीको औपचारिक कार्यक्रममा अनिवार्य राष्ट्रिय झण्डको समेत प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्तो विधानको पूर्ण पाठ 

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्