रमेश महर्जनः जसले नेपाली ज्वेलरीलाई न्यूरोडदेखि न्यूयोर्कसम्म फैलाए

काठमाडौँ– नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष तथा आर.बी. ज्वेलरीका कार्यकारी निर्देशक रमेश महर्जनको सोमबार निधन भयो। उनको कारोना भाइरस संक्रमणका कारण निधन भएको हो।

उनले आफू र आफ्नी श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत फूलपातीका दिन जानकारी दिएका थिए।

उनी असहज भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएको एक सातामा उनको ५६ वर्षको उमेरमा सोमबार निधन भएको हो। उनको आज पशुपतिमा अन्त्येष्टि गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्ले जानकारी दिए।

उनले कोरोना भाइरसविरुद्धका खोपको दुबै डोज लिइसकेका थिए। साथै सुरक्षाका उपाय पनि निकै सर्तकताका साथ अपनाउने गरेको शाक्यले बताए। उनका छोरा र श्रीमतीलाई पनि कोरोना संक्रमण भएको शाक्यले जानकारी दिए।

एउटा सफल व्यवसायी तथा असल व्यक्ति गुमाउनु सुनचाँदी तथा रत्न आभूषणका लागि निकै दुःखद् भएको शाक्यले बताए।

‘उहाँको निधनले हामी शोकमा छौँ। विश्वास नै लागिरहेको छैन’, उनले भने, ‘उहाँजस्तो मिलनसार, असल व्यक्ति, ठूलो व्यवसायी भएकोमा कुनै घमण्ड नभएको, सबैका बारेमा सोच्ने, आफ्नोभन्दा अरुको बारेमा पहिले साच्ने व्यक्तिको निधनले धेरै नै नोक्सानी भएको छ। उहाँको परिवारलाई भगवानले सहनशक्ति प्रदान गरुन्।’

उनले नेपालमा रत्न आभूषणलाई अगाडि बढाउन निकै मेहनत गरेका थिए। उनले यस क्षेत्रमा आफ्नो लामो समय दिए। नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ मिलेर २०१३ सालमा जेम्स एण्ड ज्वेलरी सुरु गरेको पनि उनले बताए। जसमा महर्जन संयोजक र शाक्यले सह–संयोजकका रुपमा काम गरे।

यतिमात्र होइन, उनले नेपाल सरकारसँग मिलेर रत्न खनिज उत्खनन्‌को कामलाई अगाडि बढाइरहेका थिए। सो कामले नेपालको आर्थिक रुपमा सबल हुने उनको विश्वास थियो।

महर्जनको व्यवसायिक यात्रा


महर्जनले लामो समय हङकङको एक हिरा होलसेल व्यापार कम्पनीमा काम गरे। उनी सानै उमेरमा रोजगारीको सिलसिलामा हङकङ गएका थिए। त्यहाँ उनले ७ वर्ष काम गरे।

त्यहाँ काम गर्दागर्दै उनले हिरा सम्बन्धी हिराको गुणस्तर, कसरी बन्छ, सबै कुरामा जानकार भए। सबै काम जान‍िसकेका महर्जन अब आफ्नो देशमा नै केही गर्नुपर्छ भनेर सन् १९९५ मा नेपाल फर्किए।

फर्किएलगत्तै उनले आफूलाई नेपाली बजारमा प्रस्तुत गर्न सक्छु कि सक्दैन भन्नेबारे हिराको बजार र अवस्थाका बारेमा बुझ्न तथा परामर्श लिन थाले। उनलाई अध्ययन गर्नै २ वर्ष लाग्यो। र विस्तारै काम गर्न सुरु गरे।

सन् १९९७ मा उनले व्यवसाय गर्न आधिकारिक रुपमा पसल दर्ता गरे। उनको व्यवसाय सफल भयो। उनले हङकङमा सिकेको सिपलाई नेपाली बजारमा लागु गरे र सफल व्यवसायी बने।

उनको अहिले न्यूरोडमा आर.बी. डायमण्ड ज्वेलर्स छ। नेपालमा मात्र होइन, अन्तराष्ट्रिय बजारमा पनि आर.बी.को पहुँच छ। अमेरिकाको न्यूयोर्क सिटीमा र अष्ट्रेलियाको सिड्नीमा आर.बी. डायमण्डको ब्रान्च छ।

उनी एक सफल व्यवसायी मात्र नभइ विवेकशील साझा पार्टीका नेतासमेत थिए। उनी गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा उठेका थिए।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्