रानीजमरा कुलरिया नहर फुट्योः जानकी गाउँपालिका र टिकापुर खतरामा

धनगढी–  कर्णाली नदीमा आएको अत्याधिक बाढीका कारण रानीजमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका पुरै जोखिममा परेको छ। नहर फुटेपछि अहिले ५०/६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार अहिले जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा नहरमा निर्माण गरिएका थ्रेटर बन्द गर्ने काम भइरहेको छ। तर कर्णालीमा पानीको अत्याधिक बहाव हुँदा नहरको थ्रेटर पुर्न समस्या भइरहेको उनले बताए। सो क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

यसै गरी टिकापुरस्थित नदी नियन्त्रण गर्न निर्माण गरिएको ड्याम भत्किएपछि कर्णाली नदी गाउँ पसेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तट्बन्धन बगाएको हो। तट्बन्धन बगेपछि कर्णाली नदी गाउँ पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

मंगलबार साढे १ बजेतिर तट्बन्धन बगेपछि कर्णाली नदी शाहीपुर गाउँ पसेको प्रवक्ता विष्टले बताए। कर्णालीले तट्बन्धन बगाउँदा टीकापुरका वडा नम्बर–५, ६, ७, ८ र ९ मा प्रभाव पर्ने देखिएको छ।

नदी गाउँमा पसेपछि प्रभावित हुन सक्ने नागरिकलाई सचेत गराउने काम जारी रहेको उनले बताए। टिकापुरमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएके उनले बताए।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्