बैंकको बढ्दो ब्याजदरप्रति उद्योगीको आपत्ति

मोरङ– बैंकको बढ्दो ब्याजदरप्रति मोरङका उद्योग संस्थाहरुले आपत्ति जनाएका छन्।

उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १, विराट व्यापार संघ लगायतले वित्तिय संस्थाले कार्तिक १ बाट लागू हुने गरी वृद्धि गरेको ब्याजदरमा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन्।

उद्योगीहरुले कोरोना महामारीबाट प्रताडित उद्योग विस्तारै लयमा फर्कँदै गर्दा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी ब्याजवृद्धि गरिनु आपत्तिजनक भएको जनाएका छन्।

उद्योगी व्यवसायीहरुले वर्तमान अवस्थामा बृद्धि गरिएको ब्याजदरलाई पुनरावलोकन गर्दै कर्जाको ब्याजदर एक अंकमा नबढ्ने गरी निर्धारण गर्न मागसमेत गरेका छन्।

उद्योग संगठन मोरङले विकास खर्च न्यून रहेको हुँदा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र द्रुत गतिमा खर्च गर्ने व्यवस्था गरी बजारमा नगद प्रवाह बढाउनसमेत निकायलाई सुझाव दिएको छ।

त्यसैगरि, कुल कर्जामध्ये उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रक्रियाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउन संगठनले जोड दिएको छ।

त्यसैगरि, नेपाल उद्योग परिसंघ प्रदेश १ ले कोभिडबाट जोगिने क्रममा रहेको उद्योगलाई बैंकहरुले ब्याजदरमा अत्याधिक वृद्धि गरी उद्योग र त्यसको उत्पादनमाथि प्रहार गरेको जनाएको छ।

संघका अध्यक्ष भीम घिमिरेले आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न ठूलो लगानीको आवश्यकता हुदाँ लगानी नै प्रभावित हुने गरी गरिएको बैंकको ब्याज वृद्धि अनुकूल मान्न नसकिने बताए। बढ्दो ब्याजदरले उत्पादन, रोजगारी, निकासीमा समेत नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्