सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात, जनवीवन प्रभावित

फाइल फोटो।

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

जिल्लाको उच्च हिमाली क्षेत्रमा वर्सातसँगै हिमपात भइरहेको स्थानीयवासीले बताएका छन्। अहिले करिब चार हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा हिमपात भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए।

खुम्बु क्षेत्रमा पर्ने लुक्ला, नाम्चे खुम्जुङ, थामेसहितको क्षेत्रमा सोमबारदेखि निरन्तर वर्षा हुँदा चिसो महसुस भएको स्थानीयवासी लामाकाजी शेर्पाले बताए। उनका अनुसार कोङदे, थामसेर्कु, आमादब्लमलगायतका क्षेत्रमा आज बिहान करिब १० बजेदेखि नै हिमपात भइरहेको छ।

निरन्तरको वर्षा तथा हिमपातका कारण खुम्बुको माथिल्लो क्षेत्र भ्रमणमा निस्केका पर्यटकहरु सोमबार बास बसेकै ठाउँमा रोकिएको शेर्पाले बताए। अहिले खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बनेको बताइएको छ। उनीहरुले हात मुखसमेत धुन नसकिरहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताए।

सदरमुकाम सल्लेरीसहित जिल्लाको तल्लो क्षेत्रमा समेत आज बिहानैदेखि भारी वर्षा भइरहेको छ। वर्षाले यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ।

दसैँको बेला टण्टलापुर घाम लागेको भए पनि टीका सकिएको केही दिनमै भारी वर्षा हुँदा सडक हिलाम्मे छ भने बजार क्षेत्र सुनसान देखिएको छ। साप्ताहिक हाट नेले बजारसमेत सुनसान हुँदा व्यापारी रित्तो हात फर्केको कपडा व्यापारी बिकाउ दासले बताए। –भोजराज कार्की/रासस

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्