लेउती खोलाले सडक बगाउँदा धरान–धनकुटा सडक अवरुद्ध

मोरङ– धनकुटास्थित लेउती खोलाले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ।

सोमबारबाट परेको अविरल वर्षासँगै गएको बाढीले धनकुटाको साँघुरीगढी– ६ मा लेउती खोलाले करिब एक सय मिटर सडक बगाएको छ। जसका कारण धरान धनकुटातर्फ चल्ने यातायातसमेत अवरुद्ध भएको हो।

खोलामा गएको बाढीले मंगलबार दिउँसो करिब ५० मिटर सडक कटान गरेको थियो। सो कटान बढ्दै गर्दा बेलुका एक सय मिटर सडक कटान जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले र कटान जारी रहेकाले यातायात खुल्ने अवस्था नरहेको प्रहरीको भनाइ छ। सडक अवरुद्ध भएपछि पहाडीक्षेत्रबाट धरान आउँदै गरेका र धरानबाट पहाडि जिल्लातर्फ जाँदै गरेका सवारी अलपत्र परेको नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठले जानकारी दिए।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक बासुदेव खतिवडाले कटान भएको स्थानबाट सवारी सञ्चालन हुन सक्ने अवस्था अहिले नरहेको जानकारी दिए।

लेउती खोलाले सडक कटान गरेको स्थान पर्यटकीयस्थल भेडेटारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्