‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ सफल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण गरेको बताएको छ । यसअघि दक्षिण कोरियाले उत्तर कोरियाको मिसाइल परीक्षणबारे बताएको थियो, त्यसलाई उत्तरको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले मंगलबार परीक्षण गरिएको मिसाइलमा यसअघिको भन्दा उत्कृष्ट नियन्त्रण क्षमतायुक्त प्रविधि रहेको उल्लेख गरेको छ ।

उत्तर कोरियाले सन् २०१६ मा सबमरिनबाटै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । अहिलेको मिसाइल त्यो बेलाको भन्दा सुधारिएको रहेको उल्लेख छ ।

केसिएनएले मिसाइल परीक्षण सम्बन्धी खबरमा नेता किम जोङ–उनको नाम उल्लेख गरेको छैन, यसको अर्थ परीक्षणमा नेता किम उपस्थित नरहेको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि मंगलबार उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो ।

गएको जनवरीमा उत्तर कोरियाले सार्वजनिक गरेको सो मिसाइल अहिले परीक्षण गरेको हो । उसले आफ्नो सो मिसाइल विश्वकै शक्तिशाली हतियार भनेका थियो ।

दक्षिण कोरियाले केही हप्ता पहिले सोही प्रकृतिको हतियार सार्वजनिक गरेको थियो ।

उत्तर कोरियाले पछिल्लो केही हप्तामा निरन्तर मिसाइल परीक्षण गरिरहेको छ । यसरी परीक्षण गरिएका हतियारमा हाइपरसोनिक र लामो दूरीमा मारहान्न सक्ने मिसाइल पनि थिए ।

केही परीक्षणहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेका छन् । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्ध लगाएको छ ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्