सालह चम्किँदा एथ्लेटिको मड्रिडमाथि लिभरपुलको महत्वपूर्ण जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । समूह बी अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुलले १० खेलाडीमा सीमित भएको स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सालहरले ८ र ७८ औँ मिनेटमा गोल गरे । उनले दोस्रो गोल पेनाल्टी मार्फत गरेका हुन् । यस्तै १३ औँ मिनेटमा नाबी केइताले लिभरपुलका लागि गोल गरेका हुन् ।

एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले २० र ३४ औँ मिनेटमा गोल गरे । उनी नै ५२ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भयो ।

लगातार तीन खेलमा जित निकालेको लिभरपुल ९ अंकसहित समूहको शीर्ष स्थानमा छ । चार अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ । सोही समूहको अर्को खेलमा एफसी पोर्टोले एसी मिलानलाई १–० ले पराजित गरेको छ । पोर्टो चार अंकसहित समूहको तेस्रो स्थानमा छ ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति नै भएका अरु खेलमा म्यानचेस्टर सिटीले क्लब बर्गलाई ५–१, पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरबी लेइप्जिगलाई ३–२, रियल मड्रिडले शाख्तर डोनेस्कलाई ५–०, इन्टर मिलानले शरिफ तिरास्पोललाई ३–१, अजाक्सले बोरुसिया डर्टमुण्डलाई ४–० तथा स्पोर्टिङले बेसिक्टासलाई ४–१ ले पराजित गरेका छन् ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्