विराटनगरमा विद्युत सेवा अवरुद्ध

विराटनगर – लगातारको वर्षाका कारण आएको बाढी दुहबीमा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिडमा पस्दा विराटनगरमा विद्युत सेवा अवरुद्ध भएको छ। दुहबी ग्रिडमा पसेको बाढीका कारण सो केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकैपटक विद्युत अवरुद्ध भएको हो।

विराटनगर वितरण केन्द्रले चारवटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ। टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सब–स्टेशनबाट २५ ग्रिडमा विराटनगर, कटहरी, ग्रामथान, बुढीगंगा र जहदामा प्रशारणलाइनमार्फतको सेवा अवरुद्ध भएको हो।

नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रका अनुसार दुहबीको कन्ट्रोल रुममा बाढी पसेपछि विद्युत सेवा बन्द गर्नु परेको हो। वर्षा रोकिएर बाढी कम भएपछि विद्युत सेवा सुचारु हुने जनाइएको छ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्