बाढी-पहिराेले प्रदेश १ मा २२ को मृत्यु

फाइल तस्बिर।

मोरङ – अविरल वर्षासँगै आएको बाढी-पहिराेका कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीले पहाडी जिल्लामा मानवीय क्षति भएको बताए।

प्रदेश प्रहरी प्रमुख बिसीका अनुसार हालसम्म इलाममा बाढी तथा पहिरोका कारण ७ जनाको मृत्यु भएको छ। त्यसैगरी पहिरोमा परी सो जिल्लामा थप ७ जना घाइते भएको उनले बताए।

प्रहरी प्रमुख बिसीले धनकुटा र पाँचथरमा समान ६–६, सुनसरीमा २ र उदयपुरमा १ जनाको बाढी र पहिरोका कारण मृत्यु भएको जानकारी दिए।

मानवीय तथा भौतिक संरचनाको क्षतिबारे थप विवरण आउन बाँकी रहेको बताएका बिसीले सडक तथा सञ्चार क्षेत्रसमेत प्रभावित हुँदा थप विवरण संकलन गर्न समस्या भइरहेको बताए। उनका अनुसार पाँचथर, धनकुटा, उदयपुरलगायतका जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएको छ।

बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएको छ। मंगलबार राती सुनसरीको इटहरीमा १५० जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। विराटनगरको जिल्ला कारागार डुबानमा परेपछि सबै कैदीबन्दीलाई भवनको माथिल्लो तल्लामा राखिएको छ।

प्रहरीका अनुसार बुधबार विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक बस्ने तयारी भइरहेको छ। हाल प्रहरीसमक्ष बाढीमा उद्धारका लागि रबरको र्याफटिंग बोटमात्र रहेको छ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्