झापा – दुई दिनदेखिको अविरल वर्षाका कारण झापामा ३६१ परिवार विस्थापित भएका छन्। कनकाई, रतुवालगायत नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका हुन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार कनकाई नदी ४.३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन्।

‘जिल्लाका ३६१ परिवारका एक हजारभन्दा धेरै मानिस विस्थापित छन्’, उनले भने, ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क विच्छेद भएको छ। बिजुलीको पोल ढल्दा विद्युत सेवा अवरुद्ध छ।’

विस्थापितलाई आफन्त, विद्यालय तथा मन्दिरलगातयतका सार्वजनिक स्थलमा राखिएको तिमिल्सिनाले बताए। उनका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ।

खतराको सीमा पार गरेको कनकाई माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फबाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन। चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन्।

दमक, भद्रपुर, शिवसताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका धेरै गाउँ बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्