काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गाको दर्शन गरेकी छन्।

दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर विजयादशमीलाई बिदाई गरिने परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भण्डारीले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन्।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले मंगलबार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गरिन्। उक्त अवसरमा नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए।

यस्तै नवदुर्गा गणका नाइके विजेश वनमालाले राष्ट्रपतिलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिए। नवदुर्गाका मूल पुजारीले राष्ट्रपतिलाई नवदुर्गा भवानीको प्रसादको रुपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो दिने पुरानो चलन हो।

नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनीहरुले अघिल्लो वर्ष राष्ट्रपतिको नै उपस्थितिमा भएको नवदुर्गा गणको जात्राको खर्च बापत पाउनु पर्ने सहयोग हालसम्म नपाएको पुजारी बालकृष्ण बनमालाले जानकारी गराएका थिए।

नवदुर्गाको मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्येक मुकुन्डोमा दक्षिणा चढाउने परम्परा छ। यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ।

नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन्। राष्ट्रपति भण्डारीले नवदुर्गा पूजासँगै देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छन्।

तस्बिरहरुः रविन आचार्य/देश सञ्चार।