बाढीका कारण मोरङमा ८६६ परिवार प्रभावित (तस्बिरहरु)

मोरङ – तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको बाढीका कारण मोरङमा ८ सय ६६ परिवार प्रभावित भएको मोरङ प्रशासनले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार जिल्लामा बाढी तथा पहिरोका कारण ८ सय ६६ परिवार प्रभावित भएका हुन्। प्रमुख जिल्ला अधिकारी दाहालले प्रभावित ८ सय ६६ परिवारका २ हजार ७ सय ९३ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको जानकारी दिए। उनका अनुसार प्रभावित सबै पीडितलाई राहत उपलब्ध गराउने कार्य भइरहेको छ।

बाढी प्रभावितलाई राहत वितरण गर्न जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेको उनले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा स्थानीय जनप्रतिनिधिले राहत वितरण गर्ने र त्यसपछि प्रशासनले राहत वितरण गर्ने तयारी भएको छ।

मोरङमा हालसम्म १ जनाको बाढीका कारण मृत्यु भएको प्रशासनले जनाएको छ। विराटनगरको बखरी पूर्वमा रहेको नहरमा २५ वर्षीय इसान भुजेलको मृत्यु भएको दाहालले जानकारी दिए। यससँगै सुन्दरहरैचा नगरपालिकाका ४० वर्षीय जीवन पराजुली र सिंघिया खोलामा बगेर विराटनगरका महानगरपालिका– १ का २१ वर्षीय सञ्जीव कामत बेपत्ता भएका हुन्।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्