बागमती प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित हुने

काठमाडौँ – नेकपा एमालेले बागमती प्रदेशसभाको बिहीबारको बैठकमा आफ्ना सांसदहरु उपस्थित हुने जनाएको छ।

एमाले बागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले आफ्नो पार्टी बैठकमा उपस्थित नहुने भन्ने कुरा सत्य नरहेको बताएका हुन्। उनले देश सञ्चारसँग भने, ‘हामी बैठकमा उपस्थित नहुने भन्ने कुरै हुँदैन। एमालेका अधिकांश सांसदहरु हेटौँडा पुगिसकेका छौँ। बैठकमा हामी जाने छौँ।’
बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दै छ। सो बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ।

सांसद फुयाँलले भने, ‘हामी बैठकमा जान्छौँ। मुख्यमन्त्रीज्यूले आफ्नो कुरा राख्नु हुनेछ। प्रस्तावमा मतदान आजै अघि बढाउने वा नबढाउने भन्ने सभामुखको निर्णयको कुरा हो।’

एमालेले आफ्नो पार्टीको वडा र पालिका तहको अधिवेशन कात्तिक ६ र ९ गते हुने भएकाले विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान प्रक्रिया ११ गतेसम्म रोक्नका लागि यसअघि नै आग्रह गरेको थियो।

मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा प्रस्तुत हुनेछ। मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ।

शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएको हो।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्