प्रधानमन्त्री देउवा बाढी पहिरोको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिममा

सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको स्थलगत अवलोकन गर्ने क्रममा दिपायलमा बाढी र पहिरोले गरेको क्षतिका बारेमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि बिहीबार गृहप्रदेश सुदूरपश्चिममा आएका छन्।

प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। अहिले प्रधानमन्त्री देउवा डोटीमा बाढी पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण गरिरहेका छन् ।

टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउद, रमेश लेखक लगायत छन् ।

काठमाडौँबाट सुर्खेत हुँदै टोली मन्त्री आले र पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी पुगेको हो । डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडी जाने बताइएको छ।

त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृहजिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले गरेको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ।

कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ। प्रधानमन्त्री देउवा शुक्रबार संघीय राजधानी काठमाडौँ फर्किने छन्।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सुदूरपश्चिममा ३० जनाको मृत्यु भएको छ। २० जना बेपत्ता छन् ।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्