प्रदेश २ मा वर्षा तथा हावाहुरीबाट भएको क्षतिको तथ्यांक संकलन सुरु

जनकपुरधाम – प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई दिनको वर्षाबाट प्रदेश २ मा कृषि क्षेत्रमा भएको क्षतिको संकलन थालेको छ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री विजयकुमार यादवले कार्तिक १ र २ गते भएको वर्षा तथा हावाको प्रभावबाट कृषि बालीमा परेको क्षतिको तथ्यांक संकलनको काम सुरु भएको जानकारी दिएका हुन्।

उनले प्राकृतिक विपद्बाट भएको प्रभावप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।

मन्त्री यादवले तथ्यांक संकलनपछि सरकारले राहत घोषणा गर्ने बताए। ‘क्षतिको तथ्यांक संकलन नभएसम्म राहत घोषणा गर्न सकिँदैन’, उनले भने, ‘वर्षा तथा हावाहुरीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलन गर्न आठ वटै जिल्लाको सम्बन्धित कार्यालयलाई भनिसकेका छौं।’
मन्त्री यादवले २ नम्बर प्रदेशको आठ जिल्लामा करिव ४ लाख ३ हजार हेक्टरमा धान रोपाइँ भएकोमा धानबाली भित्र्याउने समयमा वर्षाले क्षति भएको बताए।

अहिलेसम्म प्राप्त सूचनाअनुसार फाट्टफुट्ट रुपमा कटानी भएको पाँजा (पसही) खेतमा नै डुबेको, हावाको वेगका कारण लामो उचाइ भएका धानका जात ढलेको उनले सुनाए।

त्यस्तै पशुपन्छीको क्षेत्रमा भएको क्षति सम्बन्धमा अहिले जानकारी नभएको मन्त्री यादवले बताए।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्