सांकेतिक भाषाका दाेभाषे दिनेश श्रेष्ठ भन्छन्ः हातभन्दा छिटाे दिमाग चलाउनुपर्छ

काठमाडौँ– बोल्न र सुन्न सक्छन्, उनी। त्यसैले त सुनेको हरेक कुरालाई बोलीको माध्यमबाट जस्ताको तस्तै उतार्न सक्छन्।

तर उनको जिब्रोभन्दा अगाडि उनका हातहरु चलिरहेका हुन्छन्। बाटोमा एक्लै हिँडिरहँदा कुनै कुरा मनमा आउनेबित्तिकै उनका हात चलिरहेका हुन्छन्। कसैलाई केही कुरा बुझाउँदा पनि उनका हात नै अगाडि बढ्छन्। बोलेर आफ्ना कुराहरु अरुलाई बुझाउनुभन्दा पनि सांकेतिक भाषाको प्रयोग गर्न धेरै रुचाउँछन्।

सानो हुँदा गाउँघरमा इसारामा कुराकानी गरेको उनले नदेखेकाे भने होइन। तर त्यो बेला उनलाई यो कुराले आकर्षित भने गरेन। सानोमा कुराकानी गरिरहेका कोही व्यक्ति देख्दा पनि उनले खासै वास्ता गरेनन्।

नुवाकोटका दिनेश श्रेष्ठलाई सांकेतिक भाषामा कुरा गरेको त्यो बेला रोचक लाग्यो, जब आफूसँगै पढ्दै गरेका साथीहरु सांकेतिक भाषामा कुरा गरिरहेका हुन्थे।

एसएलसी दिएर दिनेश २०६२ सालमा काठमाडौँ छिरे। एसएलसी पास भएपछि ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसमा ११ कक्षा भर्ना भए। जहाँ उनले नयाँ साथीहरु भटे। क्याम्पसमा भेटिएका नयाँ साथीहरुमध्ये कतिपय बोल्न र सुन्न नसक्ने थिए। उनीहरु कुराकानीका क्रममा सांकेतिक भाषाको प्रयोग गरिरहेका हुन्थे।

साथीहरुले गरेको हाउभाउलाई उनी राम्रोसँग नियाल्थे। चाख मानेर हेर्थे। उनीहरुले कुराकानी गरेको देख्दा उनलाई चासाे लाग्न थाल्यो।

दिनेशका दाइ पनि उनीसँगै बढ्दै थिए। काठमाडौँमा पढाइमात्र गरेर हुँदैन भन्ने दिनेशलाई लागेको थियो। उनी सानोतिनो भए पनि व्यवसाय गर्न चाहन्थे। दिनेश साथीहरुसँग मिलेर व्यापारको योजना बनाउँदै थिए। व्यापारप्रति उनलाई चासो थियो।

तर उनलाई व्यापारले भन्दा पनि कान नसुन्ने साथीहरुले प्रयाेग गर्ने सांकेतिक भाषाले बढी आकर्षित गर्‍यो। तिनै साथीहरुले दिनेशलाई सांकेतिक भाषा सिक्न हौसला दिए। साथीहरुले भनेको कुरा उनलाई ठिक्कै लाग्यो। उनका दाइले पनि उनलाई ऊर्जा थपिदिए।

सांकेतिक भाषा सिक्नका लागि दिनेश काठमाडौँ बहिरा संघकाे बहिरा स्कुलमा भर्ना भए। बिहानको समयमा उनले सांकेतिक भाषा सिक्न थाले। दिउँसो भने आफ्नो पढाइलाई निरन्तरता दिए।

उनले कहिले पनि सोचेका थिएनन्, सांकेतिक भाषाका लागि काम गर्छु भनेर तर उनी अहिले यसमै अब्बल भइसकेका छन्। सांकेतिक भाषामै काम गर्न अझै उत्साहित छन्।

सिक्न गाह्रो…


सुरुवाती दिनहरुमा दिनेशलाई सांकेतिक भाषाको सिकाइ गाह्रो भयो। बोल्ने बानी परेका उनलाई हातको हाउभाउ गर्न मुस्किल पर्‍यो। नयाँ कुरा सिक्न रुचि देखाएका उनलाई बहिरा स्कुल जानै छोड्दिन्छु भन्ने मनमा नआएको पनि होइन। तर उनी हार मान्नेवाला भने थिएनन्। भाषा सिक्ने क्रममै उनलाई लाग्यो, ‘पहिल्यैदेखि सिकेर कोही पनि आएको हुँदैन। म पनि सिक्न आएको हुँ। विस्तारै बानी बस्दै जान्छ।’

हात बसाउन उनलाई समय भने लाग्यो। दिन प्रतिदिन उनमा सुधार हुँदै गयो। चार महिनाको अवधिमा उनी पूरै जान्ने भए। उनलाई अब भने बोल्नभन्दा पनि हातको हाउभाउ गरेर बोल्न रमाइलो लाग्न थाल्यो। दिनेश आफ्नाे पालामा सांकेतिक भाषाकाे चार महिने कक्षा हुने गरेको बताउँछन्। उनले पनि त्यही गरेका हुन्। तर अहिले यो ६ महिनाको बनाइएको दिनेशले बताए।

उनले भने, ‘नेपालमा अहिले ६ महिनाको कोर्स बनाए पनि अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने सांकेतिक भाषामै स्नातक, स्नातकोत्तरसमेत गर्न पाइन्छ।’

तालिम एउटा, काम अर्कै


चार महिनाको कोर्स सकेका उनले एउटा वर्कसपमा काम गर्ने मौका पाए। त्यसपछि भने पहिलो संविधानसभामा रघुवीर जोशी, जो बहिरा समुदायबाट सभासद् थिए, उनको ‘दोभाषे’ का रुपमा काम गरे।

त्योभन्दा अगाडि संसदमा सम्बन्धित व्यक्तिबाहेक अरुले बोल्न नमिल्ने व्यवस्था भएका कारण त्यसलाई संशोधन गर्न ६ महिना लागेको दिनेशले सुनाए।

उनले भने, ‘६ महिनासम्म उहाँ (रघुवीर जोशी) ले संसदमा आफ्नो कुराहरु दोभाषेमार्फत राख्न पाउनुभएको थिएन। संविधान संशोधन भएपछि मिटिङमा भएका कुराहरुलाई सांकेतिक भाषामार्फत बुझाउनुपरेको थियो। अन्य समितिहरुमा बोल्न मिले पनि सभाभित्र अर्को व्यक्तिको आवाज रेकर्ड गर्न नमिल्ने व्यवस्था भएका कारण बोल्न पाउनुभएन।’

उनी सांकेतिक भाषाका लागि दोभाषेको काममा रमाइरहेका थिए। त्यतिकैमा फेरि उनले देउराली जनता फर्मास्युटिकल्स्‌मा ५ वर्ष काम गर्ने अवसर पाए। देउरालीले सुनाइसम्बन्धी अपाङ्गता भएका करिब २० जनालाई राेजगारी दिएको थियो। दिनेशले उनीहरुलाई भाषामा सहयोग गर्दै काम गरे।

सांकेतिक भाषामै कोभिड अपडेट


करिब दुई वर्षदेखि दिनेश स्वास्थ्य मन्त्रालयको लाइभमा दोभाषेको काम गर्दै आइरहेका छन्।

कोभिडभन्दा अगाडि धेरैलाई सांकेतिक भाषाको बारेमा थाहा नभएको दिनेश बताउँछन्। उनले भने, ‘बहिरा महासंघ, राष्ट्रिय अपाङ्ग महासंघले नेपाल टेलिभिजनसँग सहकार्य गरेर स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा सांकेतिक भाषाकाे प्रयाेग भएकाे हाे। त्यसबेलादेखि सांकेतिक भाषाकाे बारेमा धेरैलाई जानकारी भयाे नत्र यसअघि धेरैलाई यसबारे चासाे थिएन।’

अहिले विस्तारै सांकेतिक भाषाका बारेमा मानिसहरुले बुझ्न थालेको उनी बताउँछन्। आम नागरिकभन्दा पनि सुन्न नसक्नेहरुले सही समयमा सूचना पाएको उनको बुझाइ रहेको छ।

दिनेशका अनुसार योभन्दा अगाडि नेपाली टेलिभिजनहरुमा सांकेतिक भाषाका दोभाषे थिएनन्। जसले गर्दा कान सुन्न नसक्नेहरुले देशविदेशमा के भइरहेको छ भन्ने कुरा तत्काल थाहा पाउन सक्दैनन् वा बुझ्न पाउँदैनन्। कान नसुन्ने व्यक्तिहरुको घरपरिवारका अन्य सदस्यहरुसँग पनि सूचना आदानप्रदान कमै हुने गरेको उनी बताउँछन्।

उनले भने, ‘फेरि परिवारका अन्य व्यक्तिहरुले उहाँहरुलाई यो यस्तो भइरहेको छ भनेर बताइरहनलाई मुस्किल पर्छ। कतिको परिवारले सपोर्ट गरेको हुँदैन। जसले गर्दा हामीले दोभाषेको काम गर्दा उनीहरुलाई सहज भइदिन्छ।’

गरिने र पढिने भाषा फरक


‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍सांकेतिक भाषामा दोभाषेको काम गर्दै आएका दिनेश नपढेकाहरुलाई बुझ्न केही गाह्रो हुने बताउँछन्। उनले भने, ‘कुनै अवस्थामा बुझ्न गाह्रो नै हुन्छ। तर मेरो काम गराईको अनुभव र त्यस्ता व्यक्तिहरुसँगको निकटताको अनुभवले उहाँहरुसँग कुराकानी गर्न भने सकिन्छ।’

गाउँघरमा गरिने र पढेर प्रयोग गरिने सांकेतिक भाषामा भने फरक रहेको उनले बताए। नेपालभर विशेषगरी कान नसुन्ने विद्यार्थीहरुका लागि मात्र २३ वटा स्कुल सञ्चालनमा छन्। जहाँ सांकेतिक भाषामार्फत पढाइन्छ। योबाहेक १ सय ७२ स्राेत कक्षाहरु रहेका छन्।

सामान्य बालबालिका र कान नसुन्ने बालबालिकाले पढ्ने कोर्स एउटै हुने गरेको उनी बताउँछन्। उनले भने,‘कोर्स बुक एउटै हो, मेथडमात्रै फरक हो। सामान्यलाई आवाजको माध्यमबाट पढाइन्छ भने कान नसुन्ने बालबालिकालाई त्यही कुरा सांकेतिक भाषाबाट पढाउने हो।’

स्कुलको सम्पर्कमा आउने करिब २० हजार व्यक्तिहरुले सांकेतिक भाषा पढ्दै आए पनि अझै कतिपयलाई यसको बारेमा पत्तै नभएको उनी बताउँछन्।

‘कतिलाई अझै पनि बहिरा समुदाय छ। उनीहरुको छुट्टै स्कुल हुन्छ। जहाँ सांकेतिक भाषामा पढाइ हुन्छ भन्ने कुरा अभिभावकहरुलाई समेत थाहा छैन’, उनले भने, ‘जनचेतनाका लागि हामीले सांकेतिक भाषामै विभिन्न सूचना सामग्री बनाउँदै आइरहेका छौँ। जुन हामी सामाजिक सञ्जालहरुमा प्रसारण गर्दै आइरहेका छौँ।

भाषाप्रतिको लगाव


विभिन्न ठाउँमा काम गर्दै जाँदा उनलाई अझै खुला रुपमा काम गर्नु पर्छ। अहिले उनी राष्ट्रिय बहिरा महासंघमा काम गरिरहेका छन्। योसँगै उनी राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष पनि हुन्। जसले गर्दा विभिन्न कार्यक्रममा दोभाषेको काम गर्न सहज बनाइदिएको उनी बताउँछन्।

तर दोभाषेको काम गर्दा मानिसक सँगसँगै शारीरिक रुपमा सबल हुन अत्यन्तै जरुरी रहेको उनले बताए। उनले भने, ‘हामीले अरुले बोलेको सुनेर हाउभाउ उतार्ने हो। हात सँगसँगै हाम्रो दिमाग पनि उत्तिकै छिटो चलिरहेको हुन्छ। यस्तो बेलामा छिटो बोल्ने व्यक्ति भएपछि अप्ठ्यारो भइदिन्छ।’

परिवारलाई छिमेकीले सुनाए


उनी के काम गर्छन्, परिवारलाई पनि थाहा थिएन। कहिल्यै साेधेन पनि। तर गएको वर्ष स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काम गरे। त्यसपछि उनको परिवारभन्दा अगाडि छिमेकीहरुले थाहा पाए। अनि परिवारलाई उनीहरुले नै जनाकारी गराए।

यही काम गर्नका लागि उनलाई दाइ–भाउजूले सधैँ हौसला दिइरहन्छन्। घरपरिवारले मात्र नभएर उनका साथीभाइले उनलाई काम गर्न प्रोत्साहन गरिरहेका छन्।

‘यही बीचमा मैले थुप्रै नयाँ साथी बनाउने मौकासमेत पाएँ’, मुस्कुराउँदै दिनेशले भने।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्